अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि तालिवानी विद्रोहीसँग वार्ता हुँदै

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:२२ मा प्रकाशित

अफगान सरकार र विद्रोही तालिवानी लडाकू समुहबीच वार्ता हुने भएको छ । लामो समयको प्रयासपछि तालिवानी समूहबीच शनिबार कतारको दोहामा वार्ता हुन लागेको हो । वार्ताअघि तालिवानी लडाकूका ६ जना कैदी रिहा गरिएको अधिकारीहरुले जनाएका छन् ।

विभिन्न अफगान दलहरुबीचको यो महत्वपूर्ण र प्रत्यक्ष वार्ताले अफगानिस्तानमा स्थायी शान्ति कायम गर्न महत्वपूर्ण कोसेढुंगा हुने विस्वास लिइएको विदेशमन्त्रालयले जनाएको छ ।तालिवानी समूहले पनि उक्त वार्ता प्रक्रिया अघि बढ्न लागेको पुष्टि गर्दै इस्लामिक मूल्य र राष्ट्रिय हितका विभिन्न पक्षमा समान रुपमा छलफल हुने विश्वास लिएको जनाएको छ ।

स्थायी युद्धविरामका लागि भएको प्रयास सफल भइ अफगानिस्तानमा लामो समयदेखि जारी हिंसा अन्त्य गर्न दलहरु सफल हुने विश्वास लिइएको छ ।गत फेब्रुअरीमा हुने भनिएको वार्ता अघि दुवै पक्षका कैदीबन्दी रिहा गर्ने विषयमा कुरा नमिल्दा वार्ता पछि धकेलिएको हो ।

उक्त सम्झौतामा तालिवानी लडाकूले आफ्नो नियन्त्रणमा रहेका एक हजार अफगानी सैनिक रिहा गर्ने र सरकारले पाँच हजार तालिवानी बन्दी रिहा गर्ने उल्लेख छ ।उक्त सम्झौताको विश्वासस्वरुप अमेरिकाले आफ्ना सैनिक अफगानिस्तानबाट फिर्ता बोलाउनेसमेत सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

तर उक्त सम्झौताको फ्रान्स र अष्ट्रेलियालगायतका देशले विरोध गरेका छन् । व्यक्ति हत्यामा संलग्न रहेका तालिवानी विद्रोही लडाकीलाई कानुनी कारवाही बिना रिहा गर्नु गलत भएको उनीहरुको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू