अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१० | Colorodo: 12:25

सत्तारुढ नेकपाद्धारा केन्द्र र प्रदेशको सरकार १५ दिनभित्र पुनर्गठन गर्न सरकारलाई निर्देशन

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:०४ मा प्रकाशित

शुक्रबार सकिएको सत्तारुढ नेकपाको स्थायी समिति बैठकले १५ दिनभित्र केन्द्र र प्रदेशहरुको मन्त्रिपरिषद पुनः गठन गर्न निर्देशन दिएको छ।अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमा अरु विषय कहिले गर्ने भन्ने कार्यतालिका भए पनि मन्त्रिपरिषद् पुनःगठनको सम्बन्धमा विषय मात्र उल्लेख भएकाले त्यसलाई १५ दिनभित्र गर्न स्थायी कमिटीले सुझाव दिएको हो।

अध्यक्षद्वयले ल्याएको प्रस्तावलाई शुक्रबार वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरुले व्यक्त दिएको सुझावलाई समेत समेटर अन्तिम रुप दिने गरी पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी समिति सदस्य भीम आचार्यले मन्त्रिपरिषद् पुनः गठनबारे सैद्धान्तिक विषय मात्र समेटिएकाले १५ दिनभित्र गरिसक्ने गरी प्रतिवेदनलाई पारित गरेको बताउनुभयो ।

ओली प्रचण्डले पेश गरेको प्रस्तावमा मन्त्री परिषद पुनर्गठन र राजनीतिक नियुक्ति गर्दा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गरी त्यसैअनुसार गर्ने उल्लेख छ। त्यस्तै स्थायी समितिले नेताका नाममा गठन विभिन्न प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थाहरु गुटबन्दी गर्ने थलो भएको निष्कर्ष निकाल्दै त्यसबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

नेकपाभित्र पुष्पलाल स्मृति प्रष्ठिान, मदन भण्डारी फाउण्डेशन, मदन भण्डारी अध्ययन केन्द्र, तुलसिलाल अध्ययन केन्द्र, झलनाथ खनाल प्रतिष्ठान जस्ता नेताका नाउमा खोलिएका संस्थाहरु सक्रिय छन्। स्थायी समितिको निर्णयको आधारमा सचिवालयले अध्ययन समिति गठन गर्ने र त्यसले दिएको सुझावका आधारमा नियमन गर्ने निर्णय भएको अर्का एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् । हालै मात्र झलानाथ खनाल प्रतिष्ठानले सर्प पालनका लागि ७२ करोड सरकारी कोषबाट अनुदान लिएको सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू