अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा वरिष्ठता मिचिएको भन्दै डा. केसीद्वारा आन्दोलनको चेतावनी

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:५९ मा प्रकाशित

सामाजिक अभियन्ता डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलिय कार्यकर्ता नियुक्ति गरेको आरोप लगाउनुभएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै त्रिवि शिक्षण अस्पतालमा वरिष्ठता मिचेर कार्यकारी निर्देशकमा नियुक्ति गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो ।

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा त्रिवि कार्यकारी परिषद्ले अर्थोपेडिक सर्जन प्रा.डा. दिनेश काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको भन्दै यसलाई कुनै हालतमा स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस अघिको डिन नियुक्ति नै स्थापित वरिष्ठताको आधार भत्काएर गरिएकाले सो नियुक्ति सच्याउँदै बाँकी सबै पदको नियुक्ति वरिष्ठताका आधारमा गर्न हामीले बारम्बार माग राख्दै आएका थियौं। यसरी सबै पदमा पार्टी कार्यकर्ताहरु भर्ती गर्दै जाने हो भने त्रिवि शिक्षण अस्पतालजस्तो देशकै अग्रणी स्वास्थ्य र शिक्षण संस्था धराशयी हुने निश्चित छ।’

डा. केसीले दलीय आधारमा भएका सबै नियुक्ति तत्काल खारेज गरी वरिष्ठताका आधारमा नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । यदि माग पूरा नभए कुनैपनि बेला अनशन बस्न सक्ने चेतावनी समेत उहाँले दिनुभएको छ । यतिबेला जुम्लामा रहेका डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने, प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गरिनुपर्ने, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरु गर्नुपर्ने माग राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू