अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

धरहराको चौधौँ तलाको काम सकियो, टावरको काम ६५ प्रतिशत पूरा

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:५८ मा प्रकाशित

धरहराको चौधौँ तलाको काम सकिएको छ । चौधौँ तलाको भुइँ ढलानको काम बिहीबार सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।चौधौँ तलाको (सियर वाल) अर्थात् गोलो गारोको ढलान भने गएको शनिबार सकिएको थियो । देशव्यापी रुपमा लगाइएको लकडाउन हटेपछि धरहरामा धमाधम काम भइरहेको छ ।

निषेधाज्ञाको बेलामा पनि निर्माण सामग्रीको अभाव नभएकाले काम धमाधम भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आउनु भएका राजुमान मानन्धरले जानकारी दिनुभयो ।हरेक १४ दिनमा धरहराको एक तला ढलानको काम भइरहेको प्राधिकरणको दाबी छ । धरहरा २२ तलाको हुनेछ । बाहिरबाट भने धरहरा ११ तलाको देखिनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार धरहरामा टावर निर्माणको काममध्ये ६५ प्रतिशत सकिएको छ । समग्र धरहरा पुनर्निर्माणको काम भने झण्डै ४२ प्रतिशत भइसकेको छ ।

लकडाउन खुलेपछि धरहरा पुनर्निर्माणमा झण्डै डेढ सय कामदारले नियमित काम गर्दै आएका छन् । गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेसँगै धरहराको पुनर्निर्माणमा खटिएका कामदार घर गएका थिए । तर काठमाण्डौमा लकडाउन खुकुलो भएपछि कामदारलाई ल्याइएको थियो । उनीहरुको कोरोना परीक्षण गरी काममा खटाइएको हो ।२०७२ साल वैशाख १२ गतेको भूकम्पले धरहरा ढलेको थियो । भूकम्प गएको तीन वर्षपछि धरहरा पुनर्निर्माणको काम सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू