अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

कांग्रेसमा एक/एक उपसभापति र महामन्त्री महिला हुने व्यवस्था गर्न माग

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:५५ मा प्रकाशित

नेपाली कांग्रेसमा एक/ एक उपसभापति र महामन्त्री महिला हुने व्यवस्था गर्न माग उठेको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले ‘महिलाका मुद्दा र नेपाली कांग्रेस’ विषयमा बागमती प्रदेशस्तरमा गरेको भर्चुअल कार्यक्रममा महिला नेतृहरुले अर्चुअल बैठक गर्दै पार्टीको विधान सच्याएरै भए पनि पदाधिकारीमा महिला सुनिश्चित गर्न माग गरेका हुन् ।

नेपाल महिला संघमा आवद्ध नेतृहरूले पार्टीको दुई उपसभापतिमध्ये एकमा महिला र तीन महामन्त्रीमध्ये कम्तिमा एक जना महिला अनिवार्य हुने गरी विधान सच्याउन माग गरेका हुन् । सिन्धुली महिला संघकी नेतृ गंगा दाहालले आउँदो १४ औं महाधिवेशनमा पदाधिकारी तहमा महिलालाई पु¥याउन विधानको अड्चन हटाउनुपर्ने माग गर्नुभयो ।रामेछाप महिला संघकी अध्यक्ष गंगा अधिकारीले आरक्षणका लागि मात्रै महिलाहरू पार्टीभित्र लडेकोजस्तो देखिएकाले महिला नेतृत्वमा पुग्न देशैभरका महिला एकजुट हुनुपर्ने बताउनुभयो ।

सिन्धुपाल्चोक महिला संघकी नेतृ गीता नेपालले भने आरक्षणमा पर्नुपर्छ भन्ने सोचबाट मुक्त भएर खुला प्रतिस्पर्धा गर्ने क्षमता महिला नेतृले राख्नुपर्ने बताउनुभयो । पार्टीभित्र योगदान र क्षमताका आधारभन्दा चाकडी प्रवृत्ति बढेको उहाँको भनाइ छ ।महिला संघ काभ्रेकी नेतृ निर्मला श्रेष्ठले विधान संशोधन गरेर भए पनि पदाधिकारीमा महिला सुनिश्चितता गर्नुपर्ने माग गर्दै मुख्य पदमा कम्तिमा १५ प्रतिशत महिला हुनुपर्ने बताउनुभयो ।

मकवानपुरकी महिला संघ नेतृ उमा दाहालले पार्टीभित्र न्यायोचित निर्णयको माग गर्दै नेताका नजिक र चाकडी गर्नेले मात्रै अवसर पाएको गुनासो गर्नुभयो ।अर्की नेतृ सिर्जना सिंहले पार्टीभित्र लडेर नेतृत्वमा पुग्न किन महिलाहरू सकिरहेका छैनन् भन्ने प्रश्न गर्दै उपसभापति, महामन्त्रीजस्ता पदमा महिला सुनिश्चित खोज्ने मात्र होइन अध्यक्ष मै पनि उठ्न सक्नुपर्ने बताउनुभयो ।

कांग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले अब नेतृत्वमा पुग्ने बेला आएको भन्दै सधैं माग्ने ठाउँमा बसेर हुन्न भन्नुभयो । क्रियाशील सदस्यता वितरण नै पुरूष केन्द्रित रहेको पन्तको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू