अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरलाई ५ दिनभित्र सम्पर्कमा आउन स्वास्थ्य मन्त्रालयको आग्रह

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:४६ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरलाई मन्त्रालयको सम्पर्कमा आउन आग्रह गरेको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पवनजङ्ग रायमाझीले त्यस्ता संस्था र त्यहाँ छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरलाई ५दिनभित्र मन्त्रालयमा सम्पर्क राख्न अनुरोध गर्नुभएको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारी छात्रवृत्तिमा चिकित्सा विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका विशेषज्ञ जनशक्तिलाई परिचालन गर्ने योजनाअनुसार मन्त्रालयले स्वास्थ्य संस्थालाई माग गर्ने भनेको हो । मन्त्रालयले त्यस्ता स्वास्थ्य संस्थालाई आउँदो सोमबारसम्म आवश्यक विशेषज्ञ जनशक्तिका लागि निवेदन दिन आग्रह गरेको छ । मन्त्रालयले सरकारी शिक्षण संस्थामा डाक्टर विषय अध्ययनका लागि छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार सरकारी कोटामा स्नातकोत्तर अध्ययन गरेका विशेषज्ञ जनशक्तिलाई परिचालन गर्ने उल्लेख छ ।

यसैबीच, कोभिड–१९ को रोकथाम र उपचारका लागि झण्डै दुई हजार स्वास्थ्यकर्मीले स्वयंसेवा गर्न इच्छा देखाएका छन् । मन्त्रालयले केही दिन अघि स्वंसेवकका लागि आवेदन माग गरेकोमा एक हजार नौ सय ३५ जना स्वास्थ्यकर्मीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सघाउने इच्छा देखाउँदै आवेदन फाराम भरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आवेदन फारम भरेका स्वयंसेवकलाई उनीहरुले रोजेको ठाउँमा गइ अस्पताल तथा स्वास्थ्य संस्थाको आइसोलेशन तथा क्वरेण्टीनमा रहेका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छन् । मन्त्रालयले इच्छुक चिकित्सक, नर्स, प्यारमेडिक्सलगायत स्वास्थ्यकर्मी र सेवानिवृत स्वास्थ्यकर्मीलाई स्वयंसेवकको रुपमा काम गरी कोभिड–१९ को नियन्त्रण गर्न आह्वान गरेको थियो । स्वयंसेवकलाई आफूले स्वयंसेवा गर्न चाहेको जिल्ला, पालिका र स्थानको आवश्यकता र माग बमोजिम खटाइने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू