अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

एसिड प्रहार गर्नेलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:४३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहार गर्नेलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाउन निर्देशन दिनुभएको छ । देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरू सहभागी विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले बेहोर्ने घोषणा गर्नुभयो ।

एसिड प्रहारजस्तो अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न १५ दिनभित्र कानुन मस्यौदा तयार गरिसक्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीले निर्देशन दिनुभयो । अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्ने व्यवस्था सरकारले मिलाउने प्रधानमन्त्री ओलीको भनाइ थियो । आक्रमणकापछि पढ्न चाहनेहरूका लागि निःशुल्क पठनपाठनको प्रबन्ध मिलाउने, तालिम, रोजगारी, सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने, र जिविकोपार्जनको प्रबन्ध सरकारले मिलाउने प्रधानमन्त्रीले बताउनुभयो ।

एसिड आक्रमणबाट पीडितहरुसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरु समेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई त्यसको व्यवस्थापनको निर्देशन दिनुभएको हो । गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुङ्बाहाम्फे, महान्यायाधिवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिव समेतको उपस्थितिमा भएको उक्त अन्तरक्रियामा सम्बन्धित मन्त्रालय र निकायहरुलाई आ–आफ्नो कार्यक्षेत्रको जिम्मेवारी पूरा गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया