अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१४ | Colorodo: 13:29

अर्थतन्त्रका सबै सूचक सकारात्मक – गभर्नर अधिकारी

बिआरटीनेपाल २०७७ भदौ २४ गते ६:४३ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड– १९ मा पनि अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको दाबी गर्नुभएको छ । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँगको छलफलमा गभर्नर अधिकारीले कोभिडको अवधिमा पनि सबै सूचक सकरात्मक रहेको दाबी गर्नुभएको हो ।

गभर्नर अधिकारीले निर्यातमा स्थिरता, आयातमा व्यवस्थापन, चालू खाता घाटामा उल्लेख्य सुधार, शोधनान्तर स्थिति दुई खर्ब ८२ अर्बले बचतमा रहेको र विदेशी विनिमय सञ्चिती १४ खर्बभन्दा माथि रहनुले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । दुई खर्बको हाराहारीमा रहेको तरलतालाई अवसरका रुपमा लिन बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई आग्रह पनि उहाँले गर्नुभयो ।

बैंक तथा वित्तीय संस्थाहरुसँग अधिक तरलता रहेको र यसलाई समस्याभन्दा पनि सहजताको सूचकको रुपमा लिन अधिकारीले जोड दिनुभयो । साथै, तरलता बढेको अवस्थामा कर्जा दुरुपयोग हुनसक्नेतर्फ सजग रहन पनि उहाँले सुझाव दिनुभएको छ । पुनर्कर्जाको लागि आवेदन लिन बैंक तथा वित्तीय संस्थाहरुले आनाकानी गरिरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले जारी गरेका नीतिगत व्यवस्थाप्रति जिम्मेवार रहनसमेत सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू