अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

महाधिवेशन निजिकिँदै गर्दा कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै

बिआरटीनेपाल २०७७ भदौ २२ गते ६:३४ मा प्रकाशित

पार्टीको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ । सभापति शेरबहादुर देउवाले आफूखुसी पार्टीको विभाग विस्तार गरिरहेको भन्दै इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छन । महाधिवेशनलाई प्रभावित गर्ने गरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरुको आरोप छ ।

रामचन्द्र पौडेल र सिटौला पक्षका नेताहरुले सभापतिले आफ्नो निर्णय नसच्याए धर्ना दिनेदेखि लिएर आमरण अनसन बस्नेसम्मको चेतावनी दिएका छन । यता देउवा पक्षका नेताहरुले भने विभाग गठन र शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिने निर्णय स्वभाविक भएको दाबी गरेका छन् ।

नेता मीन विश्वकर्माले सभापति देउवाले गरेका निर्णयको बचाउ गर्नुभएको छ । उहाँले विधान अनुसार ६ महिनाभित्र नै पार्टीका विभागलगायत सबै अङ्गलाई विस्तार गर्ने प्रयास गरे पनि सहमति जुट्न नसकेको बताउनुभयो । सभापतिले सर्वसम्मत निर्णय गरौँ भनेर दबाब दिए पनि पौडेल पक्ष सहमतिमा आउन नचाहेको नेता विश्वकर्माले बताउनुभयो ।

कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सभापतिले विधान विपरीत गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाउनुभयो । पार्टीभित्र सभापतिले मनोमानी गरिरहेको उहाँको भनाइ छ । सभापतिको निर्णय क्षमतामाथि नै प्रश्न उठ्ने गरी विभाग विस्तार गर्ने काम भएको उहाँले बताउनुभयो ।

सभापति देउवा विधानविपरीत अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणबद्ध आन्दोलनको तयारी गरेको छ । विधानविपरीत भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनसन बस्नेसम्मका दबाबमूलक कार्यक्रम गर्ने तयारी पौडेल समूहको छ । कांग्रेसको विधानतः चार वर्षको कार्यकाल सकिएपछि तदर्थ समितिमा रुपान्तरण भएपछि सभापति देउवाले संगठन विस्तार गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू