अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

‘मलाई केही हुँदैन भन्ने भ्रम त्यागौँ, सङ्क्रमण भइ निको भएकाको कुरा सुनौँ’

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:३९ मा प्रकाशित

सरकारले कोरोना भाइरसलाई सामान्य तरिकाले लिएर हेलचेक्रयाइँ नगर्न आग्रह गरेको छ । ’मलाई केही हुन्न, म तन्दुरुस्त छु’ भन्ने भ्रमका कारण कोरोना भाइरसको सङ्क्रमण झन् फैलिँदै गएकाले यस्ता भ्रम त्याग्न र स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको आग्रह छ ।

उहाँले घरबाहिर निस्कँदा सही तरिकाले मास्क लगाए, भिडभाडमा नगए कोरोनाबाट बच्न सकिने बताउनुभयो । खोक्दा, हाच्छिउँ गर्दा र बोल्दा थुकमार्फत कोरोना भाइरसको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्न र व्यक्ति–व्यक्तिबीचको दुरी कायम राख्न डाक्टर गौतमको सुझाव छ ।कोरोना भाइरसको सङ्क्रमणबारे भ्रममा बस्नु भन्दा वा भ्रम छर्नु भन्दा कोरोना भाइरसको सङ्क्रमण भइ निको भएका व्यक्तिहरुको अनुभव र भोगाइ सुन्न उहाँको आग्रह छ । कोरोनाको सङ्क्रमणपछि सामाजिक, शारीरिक र मानसिक समस्या शब्दमा बयान गर्नसमेत नसकिने हुँदा सङ्क्रमण रोकथाममा गम्भीर बन्न मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जोड दिनुभयो ।

यस्तै उहाँले सरकारले सीमित स्रोत साधनमा कोरोनाको निःशुल्क पीसीआर परीक्षण गरिरहेको बताउनुभयो । कोरोनालाई केही होइन भन्दै भ्रम छर्ने काम गरे कानुनअनुसार कारबाही हुने पनि उहाँले बताउनुभयो ।यसै सम्बन्धमा एनेस्थेसिया तथा क्रिटिकल केयरका डाक्टर गोविन्द गौतमले कोरोना भाइरसको सङ्क्रमण कुनै पनि बेला हुन सक्ने र आइसोलेशनको तयारी गरी राख्न सुझाव दिनुभएको छ । ’म भर्खरको ठिटी हो वा ठिटो हो, मलाई के हुन्छ र भन्नु हुँदैन । केही रोग नभएका युवाबाट पनि अरु जोखिम भएकाहरुलाई सङ्क्रमण सार्ने सम्भावना भएकाले सावधानी अपनाउनुपर्छ । अरु विभिन्न रोग लागेका व्यक्तिलाई त झन् हामीले रोग सार्नु हुँदैन’, उहाँले भन्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू