अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

‘उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गरौँ, दशैँसम्म निषेधाज्ञा लगाऔँ’

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:२२ मा प्रकाशित

काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाइ गर्नुपर्ने बताएका हुन् ।

काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने बताउनुभयो । उहाँले चाहेर पनि र नचाहेर पनि दैनिक दुई हजारभन्दा बढीलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताउनुभयो । दशैं सम्म सेना परिचालन गरी निषेधाज्ञा लगाउनुपर्ने उहाको भनाई थियो ।

भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताउनुभयो । योजनाबद्ध रुपमा मानिसहरुलाई उपत्यकाभित्र प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । मान्छेलाई आउनै नदिने भन्दा पनि जिम्मेवार रुपमा कसरी ल्याउने वा पठाउने भन्ने सम्बन्धमा काम गर्नुपर्ने आवश्यकता रहेको पाण्डेले बताउनुभयो ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैँसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाइ निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू