अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

सेवा प्रदायक भन्छन् – ’हाम्रा कारणले मात्रै इन्टरनेट स्लो भएको होइन’

बिआरटीनेपाल २०७७ भदौ २० गते ७:०१ मा प्रकाशित

सेवा प्रदायकहरुले इन्टरनेटको स्पीड स्लो हुनुमा आफूहरुको मात्रै कमजोरी नभएको बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल अन्तर्क्रिरयामा उनीहरुले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारणले गर्दासमेत इन्टरनेट स्लो हुन सक्ने बताएका हुन् । अन्तरक्रियामा सुबिसु केवल नेट प्रालिका सीईओ विनयमोहन साउदले भारतका टाटा, एअरटेललगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमताभन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताउनुभयो ।

‘ग्राहकको गुनासो जायज नै हो, इन्टरनेट सेवा प्रदायकहरुले चर्को प्रतिस्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन् । हामी त उपभोक्ता र सर्भर वा एपबीचको पुल मात्रै हौ । तीन वटा पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ, तर गाली खाने हामी मात्रै हुन्छौँ,’ सीईओ साउदले भन्नुभयो ।

साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेको र यसमा आफूहरुको पहलले मात्रै पूर्ण समाधान नआउने बताउनुभयो । ‘कुनै बेला फेसबुक, युट्युब, टिकटकलगायतका प्लाटफर्ममै समस्या आएको हुन्छ । तर उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्नुहुन्छ । हामीले फेसबुक, टिकटक, युट्युबको समस्या समाधान गर्न सक्दैनौँ नी ’ उहाँले भन्नुभयो ।

यस्तै भायनेट कम्यूनिकेशन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताउनुभयो । ‘अहिले टिकटकको कारण नै इन्टरनेट स्लो भएको छ । भोलि यस्तै अर्को एप आउला । धेरैे इन्टरनेट खपत गर्ने साइट आउला । त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ । त्यसैले यसको गुनासो पूर्णरुपमा समाधान हुन सक्दैन । हामीले कम गर्दै लैजाँने हो,’ बोहोराले भन्नुभयो ।

अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको बोहोराको भनाइ छ । ‘हामीकहाँ इन्टरनेटको खपत धेरै बढे पनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, ब्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्छ । हामीले भारतबाट किन्छौँ । उता समस्या आएमा यता नेपालमा इन्टरनेट स्लो हुन्छ वा बन्द हुन्छ । त्यसमाथि नेपालको भौगोलिक विकटताले पनि समस्या पारेको हुन्छ,’ उहाँले भन्नुभयो ।

प्रबन्ध निर्देशक बोहराले ठूला प्लाटफर्मका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोचना केही कम हुने आशा व्यक्त गर्नुभयो । कहिलेकाँही प्रतिस्पर्धाको नाममा इन्टरनेट सेवा प्रदायकबीच हुने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि ग्राहकले गुणस्तरीय इन्टरनेट नपाएको हुन सक्ने बोहोराको भनाइ छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाको कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पीडमा थप समस्या भएको छ । विशेषगरी टिकटक, फेसबुक र युट्युबका प्रयोगकर्ताको संख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पुर्याउन हम्मेहम्मे परेको सुबिसु केवल नेट प्रालिका सीईओ विनयमोहन साउदको भनाइ छ ।

लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२ देखि २५ जीबीपीएस ब्यान्डविथको माग बढेको उहाँले जानकारी दिनुभयो । ‘लकडाउनअघि एउटा ग्राहकले महिनाभरिमा झण्डै तीन सय जीबीपीएस इन्टरनेट खपत हुन्थ्यो। अहिले पाँचदेखि ६ सय जीबीपीएस खपत भइरहेका छ । प्रायजसो प्रयोगकर्ताकै कारणले पनि इन्टरनेट केही ढिला भएको हुन सक्छ । यो कुरा उहाँहरुले पनि बुझिदिँदा राम्रो हुन्छ,’ सीईओ साउदले भन्नुभयो ।

कोरोनापछि गुगल ३७ प्रतिशत, फेसबुक ४७ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रतिशतभन्दा धेरैले बढेको उनले जानकारी दिनुभयो । साउदले मनोरञ्जनको लागि चलाइने एप या सर्भरले एचडी तथा उच्च क्षमतामा चलाउँदा इन्टरनेट स्लो हुने भएकाले सकभर त्यसो नगर्न आग्रह गर्नुभयो । त्यस्तै भायनेट कम्यूनिकेशन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोराले कोरोनापछि इन्टरनेट सेवा प्रदायकहरुलाई झनै ठूलो समस्या परेको बताउनुभयो ।

‘इन्टरनेटको माग धान्नै नसक्नेगरी बढेको छ, हाम्रा उपकरण बिग्रिरहन्छन् । यस्तो बेलामा विदेशबाट आउने चार्टर्ड जहाजमा सामान ल्याउन समय लाग्छ । भनेको बेलामा जनशक्ति पाइँदैन । कोरोनापछि हामी थप समस्यामा छौँ,’ बोहोराले भन्नुभयो ।

यसैबीच, टीजेएफले गरेको भर्चुअल अन्तर्क्रिरयामा दूरसञ्चार विज्ञ आनन्दराज खनालले देशमा भइरहेको अनेक अभावका बीच इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले दिएको सेवामा सन्तुष्ट हुनुपर्ने बताउनुभयो । महामारीको बेलामा इन्टरनेटको गुणस्तर सुधारको लागि विकसित देशले ब्यान्डविथ बढाउँनेदेखि अन्य धेरै पहल गरेको, तर नेपाल सरकारले भने उपभोक्तालाई छुट दिने निर्देशनबाहेक अरु केही नगरेको खनालको आरोप छ ।

‘इन्टरनेटको गुणस्तर सेवा प्रदायकको हातमा मात्रै छैन । इन्टरनेट आफैँमा एउटा ठूलो प्रणाली हो । सरकार, नियामक र उपभोक्ताले धेरै बुझ्न बाँकी छ । यदि सेवा प्रदायकका दुःख बुझ्ने हो भने सेवाप्रदायकलाई गाली गर्ने थिएनौँ होला,’ दूरसञ्चार विज्ञ खनालले भन्नुभयो ।

आईएसपीले विदेशमा ब्यान्डविथको पैसा भुक्तानी गर्नका लागि पनि कयौँ दिन यता र उता धाउनुपर्ने बाध्यता रहेको भन्दै खनालले सरकारले निर्देशन मात्रै दिने गरेको तर गुणस्तर सुधारको लागि नीतिगत र व्यवहारिक काममा ध्यान नदिएको बताउनुभयो । उहाँले राउटरलगायतका सामग्री सेवाप्रदायक स्वयंले उपलब्ध गराउँदै आएको भन्दै कम गुणस्तरको राउटरकै कारण इन्टरनेट स्पीड कम भएको भनेर पन्छिन नमिल्ने उल्लेख गर्नुभयो ।

187045510

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू