अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 09:41

वैकल्पिक कक्षा शैक्षिक सत्रमा गणना हुन्छ – शिक्षा मन्त्रालय, स्थानीय तहको अनुमतिमा निजी बिद्यालयले शुल्क लिन पाउने

बिआरटीनेपाल २०७७ भदौ १९ गते ६:५१ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक कक्षालाई शैक्षिक सत्रमा गणना गर्ने जनाएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक विधिबाट सञ्चालित कक्षा नै मुलधारको शिक्षा भएको बताउनुभयो । विद्यालय, प्राविधिक र उच्चशिक्षामा वैकल्पिक पद्धतिबाट भइरहेको पठनपाठनलाई औपचारिक मान्यता दिने मन्त्रालयले जनाएको छ । यसअघि असार १ गते सरकारले वैकल्पिक सिकाइ अभियान सुरु गरेको थियो । मन्त्री पोखरेलले शुक्रबार भर्चुअल पत्रकार सम्मेलन गरेर कार्ययोजनासहित वैकल्पिक कक्षालाई मूलधारको शिक्षा बनाउन लागिएको जानकारी दिनुभयो ।

अनलाइन, रेडियो, टेलिभिजन र प्रिन्ट सामग्रीबाटै विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरिने मन्त्री पोखरेलको भनाई छ । वैकिल्पक शिक्षामा छुटेका, दुर्गम र अपाङ्गता भएका विद्यार्थीलाई लक्षित गरेर कार्ययोजना बनाइने उहाँले जानकारी दिनुभयो । वैकिल्पक कक्षालाई प्रभावकारी बनाउन शिक्षण संस्थाले आफ्ना विद्यार्थीको खोजी गर्नुपर्ने पोखरेलको भनाई थियो । कोरोना संक्रमणको बेला पुरानो सोच, शैली र पद्धतिले पठनपाठन सम्भव नरहेको उल्लेख गर्दै उहाँले शिक्षण संस्था खोल्दा झन जोखिम बढ्न भएकोले घरलाई नै शिक्षालय बनाउनुपर्ने बताउनुभयो ।

कोरोना संक्रमणका बीच अनलाइन, रेडियो, टेलिभिजन र प्रिन्ट सामग्रीमध्ये जुनमा सम्भव छ त्यही सामग्री प्रयोग गरेर सिकाइलाई निरन्तरता दिनुपर्ने शिक्षाविद्हरुको पनि मत रहँदै आएको छ । यसैबीच, शिक्षकको कोरोना बिमा गर्ने र लकडाउनको बेला पनि प्रशासनको अनुमतिमा हिँडडुल गर्ने व्यवस्था गरिएकाले वैकल्पिक कक्षामा जोडिन पुनः ताकेता गरिएको छ ।

तरपनि, सामुदायिक विद्यालयका अधिकांश शिक्षकहरु वैकल्पिक कक्षामा सहभागी नभएको गुनासो छ । निजी विद्यालयले शुल्कको सिमा ताकेर वैकिल्पक कक्षाको पनि शुल्क लिन पाउने मन्त्री पोखरेलले प्रष्ट पार्नुभयो । तर शुल्क लिनुअघि स्थानीय तहको अनुमति लिनुपर्ने उहाको भनाई छ । यसअघि मन्त्रालयले वैकल्पिक कक्षाको शुल्क लिन रोक लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू