अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

जापानको नारिताबाट नेपाल एअरलाईन्स मार्फत एक यात्रु पीसीआर रिपोर्टबिनै आएपछि सबै यात्रु होटल क्वरेण्टीनमा

बिआरटीनेपाल २०७७ भदौ १८ गते ६:१२ मा प्रकाशित

जापानको नारिताबाट नेपाल एअरलाइन्समार्फत फर्किएका एक यात्रुसँग पीसीआर जाँचको रिपोर्ट नभएपछि सबै यात्रुलाई होटल क्वरेण्टीनमा राखिएको छ ।नियमित उडानमार्फत जापानको नारितामार्फत २१३ जना आएकोमा एक जनाको आरडीटी परीक्षण मात्र गरेको पाइएको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । सरकारले पाँच महिना रोकिएको हवाई उडान भदौ १६ गतेदेखि खुलाएको थियो ।

नियमित उडान खुलेपछि पहिलो उडान नै नेपाल एअरलाइन्सले जापानका लागि भरेको थियो । ‘एक जना यात्रुसँग आरडीटी मात्र गरेको पाइएपछि अहिले सबै यात्रुलाई होटल क्वरेण्टीनमा राखिएको छ,’ एअरलाइन्सकी प्रवक्ता खड्काले भन्नुभयो,‘पीसीआर रिपोर्ट नभएका यात्रुको स्वाब सङ्कल गरेर पठाइसकिएको छ, रिपोर्टको प्रतिक्षामा छौं ।’

ती यात्रुको पनि रिपोर्ट नेगेटिभ आएमा सबैलाई घर पठाउने या के गर्ने भन्ने विषयमा निर्णय नभइसकेको प्रवक्ता खड्काले बताउनुभयो । सरकारको नियम अनुसार नियमित उडानमार्फत आउने सबै यात्रुको पीसीआर रिपोर्ट अनिवार्य हुनुपर्छ ।यदि कुनै एअरलाइन्सले पीसीआर नगरेका यात्रु ल्याएमा सबै यात्रुलाई काठमाण्डौमै होटल क्वरेण्टीनमा राख्नुपर्छ र त्यसको खर्च पनि एअरलाइन्स कम्पनीले नै व्यहोर्नुपर्छ । यही नियम अनुसार नै सबै यात्रुको होटल क्वरेण्टीन खर्च पनि एअरलाइन्स कम्पनीले नै व्यहोर्ने प्रवक्ता खड्काले बताउनुभयो ।

पीसीआर परीक्षण सहज भएका देशबाट नियमित उडान भदौ १६ गतेदेखि खुलेको छ भने परीक्षण सहज नभएका देशबाट नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान नै भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू