अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 11:24

विदेशमा अलपत्र श्रमिकको राहत र उद्धारका लागि दूतावासलाई पठाइयो ८० लाख

बिआरटीनेपाल २०७७ भदौ १८ गते ६:०० मा प्रकाशित

लकडाउन अवधिमा स्वदेश फर्कन नसकेर समस्यामा परेका नेपालीको लागि ८० लाख रुपैयाँ रकम पठाइएको छ ।देशमा लकडाउन भएको र घर फर्कन अन्तर्राष्ट्रिय उडान पनि बन्द भएकाले अलपत्र परेका नेपालीको राहत र उद्धारका लागि खाडी र मलेसियाका नेपाली दूतावासले माग गरेअनुसार ८० लाख रुपैयाँ रकम पठाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

दूतावासले माग गरे अनुसार मलेसियामा १० लाख, यूएईमा २० लाख, साउदी अरेबियामा ३५ लाख र बहराइनमा १५ लाख गरी ८० लाख रुपैयाँ पेश्की पठाइएको बोर्डले उल्लेख गरेको छ । यो रकम दूतावासले माग गरेपछि साउन महिनामा पठाइएको हो ।

यस्तै मलेसियामा घरफिर्ती केन्द्रमा रहेका ८६ जना नेपाली श्रमिकको स्वदेश फिर्तीका लागि हवाई टिकट काट्न ३० लाख रुपैयाँ पठाइएको छ । दूतावासले माग गरे अनुसार नै ३० लाख रुपैयाँ परराष्ट्र मन्त्रालयमार्फत पठाएको बोर्डले जनाएको छ । बोर्डका अनुसार अन्य दूतावासमा समेत प्रमाणित विवरण पठाउन समन्वय र सहकार्य भइरहेको छ ।

साउन महिनामा विदेशबाट उद्धार गरी ल्याइएका र होल्डिङ सेन्टरदेखि घरसम्म पुग्न नसक्दा अलपत्र परेका १८७ जना श्रमिकको खर्च पनि बोर्डले व्यहोरेको छ । उनीहरुको यातायात लगायतका लागि १ लाख ९७ हजार १ सय रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू