अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

ललितपुरमा मच्छिन्द्रनाथको रथ तान्ने प्रयास, प्रहरी र स्थानिय युवाबीच झडप, प्रहरीद्वारा अश्रृग्यास प्रहार

बिआरटीनेपाल २०७७ भदौ १८ गते ५:५९ मा प्रकाशित

स्थानीय युवा र गुठियारले रातो मछिन्द्रनाथको रथ तान्न थालेपछि ललितपुरको पुल्चोकमा प्रहरी र युवाबीच झडप भएको छ । रथ तान्न थालेका युवाहरुलाई प्रहरीले रोकेपछि युवाहरुले त्यसको विरोध गरेका थिए । युवाहरुलाई हटाउन प्रहरीले पानीको फोहोरा हान्न थालेपछि युवाहरुले ढुङ्गामुढा गरेका छन् ।

युवाहरुलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । युवाहरुले रथ सडकको बीचमा लग्दा प्रहरीसंग झडप भएको थियो । कोरोना भाइरसको महामारीको जोखिमका कारण स्थानीय प्रशासन र गुठी संस्थानले रथ तान्ने काम रोक्न निर्देशन दिएका छन् । तर मलमास सुरु हुनुअघि अर्थात् असोज २ गतेअघि नै रथलाई बुङ्गमती पुर्र्याई सक्नुपर्ने चलन रहेको भन्दै स्थानीय युवा र गुठियारहरुले रथ तान्ने प्रयास गरेका हुन् ।

चैत २७ गतेदेखि रथ निर्माण सुरु हुनुपर्नेमा लकडाउनका कारण असार १० गतेदेखि मात्रै निर्माण सुरु भएको थियो । त्यसपछि पटक–पटक रथ तान्न मिति तोके पनि कोरोनाको जोखिम कम नभएकाले सुरु हुन सकेको छैन । रातो मछिन्द्रनाथका ज्योतिष कृतिमदन जोशीले स्थानीयले बारम्बार गरेको अनुरोधलाई प्रशासनले बेवास्ता गरेका कारण पुल्चोकमा तनाव सिर्जना भएको बताउनुभएको छ ।

युवाहरु रथ तान्न निस्किएपछि ललितपुर महानगरपालिकामा सरोकारवालाहरुको आपत्कालीन बैठक बसेको छ । जसरी पनि रथ तान्नै पर्ने भएकोले त्यसको व्यवस्थापन स्थानीय प्रशासनले नगरेमा समस्या आउने ज्योतिष कृतिमदन जोशीले बताउनुभयो । उहाँले रथको प्राविधिक पक्ष जाँचको काम नै नभएकोले अहिलेलाई रोकेर तत्कालै व्यवस्थित रुपमा तान्ने व्यवस्था प्रशासनले गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू