अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

नेपाली भाषा साहित्य सङ्घ नवलपरासीको इम्बोस्ड नम्बर प्लेटको विरोध

बिआरटीनेपाल २०७७ भदौ १४ गते ८:४९ मा प्रकाशित

विज्ञप्ति

कुनै पनि जाति एवं समुदायको अस्तित्व र पहिचान भूगोल मात्र होइन भाषा पनि हो । भाषाको संरक्षणविना कसैको अस्तित्व सम्भव छैन । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा तथा साझा सम्पर्क भाषा हुनाका साथै भारत, भुटान म्यान्माका केही भागमा मातृभाषाका रूपमा बोलिने भाषा हो । यसरी नेपाली भाषा नेपालभित्र सरकारी कामकाजको भाषा तथा साझा सम्पर्कको भाषाका रूपमा र नेपाल बाहिर जातीय एकताको सूत्र बनेको कुरा सर्वविदितै छ । सरकारी निकायबाटै नेपाली भाषाको गरिमा र अस्तित्वलाई बेवास्ता गरी विभिन्न समयमा विभिन्न बहानामा नेपाली भाषालाई ध्वस्त पार्ने गम्भीर षड्यन्त्र भएका छन् । यसरी भएका षड्यन्त्रमध्ये सवारी साधनहरूमा देवनागरी लिपिमा प्रयुक्त नेपाली भाषाको नम्बर प्लेट हटाएर नेपाली भाषाको पहिचान एवं अस्तित्व नै मेट्ने गरी अङ्ग्रेजी भाषाका इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारी निर्णय पनि एक हो । यस निर्णयका विरुद्ध मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले दिएको सशक्त दबाब स्वरूप तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले २०७४ फागुन ६ गते कार्यान्वयन नगर्ने अन्तरिम आदेश जारी गरेको कुरा सर्वविदितै छ । सर्वोच्च अदालतले २०७६ मङ्सिर २७ गते उक्त रिटलाई खारेज गरिदिएपछि यातायात व्यवस्था विभागले यही साउन १ गतेदेखि सवारी साधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने भनी पत्राचार गर्न थालेको छ ।

अङ्ग्रेजी भाषामा मात्र राख्ने भनिएको इम्बोस्ड नम्बर प्लेटको सर्वत्र विरोध हुँदाहुँदै पनि सम्मानित सर्वोच्च अदालतबाट भएको भाषा विरोधी, गैर जिम्मेवार फैसलाप्रति नेपाली भाषा साहित्य सङ्घ नवलपरासी खेद प्रकट गर्दै घोर निन्दा र भर्त्सना गर्दछ । नेपालको अस्तित्व र पहिचानसँग गाँसिएको महत्त्वपूर्ण विषयलाई जगेर्ना गर्नुपर्ने निकायबाट नै सामान्य रूपमा लिएर अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने भन्ने फैसला कदापि मान्य हुने छैन । नेपालका सवारी साधनमा प्रयोग हुने भाषा विदेशीहरूका लागि नभएर नेपालीका लागि हो । नेपाली भाषामा वर्ण लेखनमा जटिलता, विदेशीका लागि सजिलो, पारवहनमा सुविधाजस्ता अत्यन्त फितला, हास्यास्पद एवं विवेकहीन तर्कका आधारमा सर्वोच्चको संवैधानिक इजलासले गरेको असंवैधानिक फैसलाले सबै नेपालीको भावनामा गम्भीर चोट पुगेको छ । त्यसैले यो राष्ट्रघाती प्रकृतिको फैसलालाई तत्काल सच्याउन नेपाली भाषा साहित्य सङ्घ नवलपरासी जोडदार माग गर्दछ । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले भाषा संरक्षणका लागि गरेका महत्वपूर्ण कामप्रति पूर्ण समर्थन जनाउँदै कहीँ कतै कुनै निकाय वा व्यक्तिबाट नेपाली भाषाको मर्म र अस्तित्वप्रति चोट पुग्ने दुष्कार्य नगर्न यो संस्था सम्बद्ध सबैलाई आग्रह गर्दछ ।

अन्त्यमा, देश विदेशमा रहनुहुने सबै नेपाली भाषाप्रेमी महानुभावहरू नेपाली भाषाको अस्तित्व रक्षाको लागि एकजुट हुने कुरामा संस्था विश्वस्त छ ।

नेत्रलाल न्यौपाने
अध्यक्ष

टीकादेवी पोख्रेल
सचिव
नेपाली भाषा साहित्य सङ्घ नवलपरासी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू