अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

युवराज मैनालीको लघुकथाकारिता

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७७ भदौ १० गते १५:१७ मा प्रकाशित

१. विषय परिचय
२०१७ साल चैत १० गते काभ्रेपलान्चोक जिल्लाको कानपुर भन्ने ठाउँमा जन्मिएका युवराज मैनालीले इतिहास विषयमा स्नातकोत्तर गरेका छन् । आजीविकाको माध्यम निजामती सेवालाई बनाएका मैनालीले विभिन्न जिल्लामा रहेर प्रशासनिक कार्य गरेर हाल सेवानिवृत्त जीवन बिताइरहेका छन् । जागिरका साथसाथै साहित्य सिर्जनामा पनि रुचि राख्ने मैनाली पहिलेदेखि नै साहित्यिक क्षेत्रमा पनि त्यत्तिकै क्रियाशील देखिन्छन् ।

युवराज मैनालीले समालोचना, कथा र निबन्धका क्षेत्रमा आफनो कलम चलाएका छन् । यिनको व्यक्तित्वका प्रमुख दुई पाटामध्ये एउटा प्रशासनिक व्यक्तित्व हो भने अर्काे साहित्यिक व्यक्तित्व हो । यिनको साहित्यिक व्यक्तित्वका पनि विभिन्न पाटाहरू रहेका छन् । यिनले मुर्दा बोल्यो (२०३७) र पृथक् बाटो (२०७६) शीर्षक कथासङ्ग्रहका माध्यमबाट आफुलाई कथाकार व्यक्तित्वका रूपमा प्रस्तुत गरेका छन् भने भ्रष्टाचारको भाङ (२०६५) शीर्षक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका माध्यमबाट हास्यव्यङ्ग्य निबन्धकार व्यक्तित्वका रूपमा प्रस्तुत गरेका छन् । यसैगरी केही प्रतिभा केही प्रवृत्ति (२०४२), समको पौराणिक नाट्य कौशल (२०६९) र कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण (२०६९) शीर्षक समालोचना सङ्ग्रहका माध्यमबाट यिनले आफुलाई समालोचक व्यक्तित्वका रूपमा उभ्याएका छन् । उपर्युक्त पुस्तकाकार कृतिबाहेक विभिन्न पत्रपत्रिकामा प्रकाशित यिनका विभिन्न विधाका लेखरचनाहरूले पनि तत्तत् विधा लेखनमा निरन्तरता दिइरहेको देखिन्छ । हाल यिनी कविता सिर्जनातर्फ क्रियाशील देखिन्छन् ।

विगत तीन दशक अर्थात् नेपाली साहित्यको समसामयिक धाराको प्रारम्भतिरैदेखि साहित्यिक क्षेत्रमा क्रियाशील रहेर विभिन्न कृतिको सिर्जना गरिसकेका युवराज मैनाली सिर्जना र समालोचनाका माध्यमबाट नेपाली साहित्य र समालोचनाका फाँटमा स्रष्टा एवं द्रष्टा व्यक्तित्वका रूपमा पहिचान बनाइसकेका व्यक्ति हुन् । यति गरेर पनि यस क्षेत्रमा ओझेलमा परी न्यून चर्चामा रहेका मैनाली वर्तमान दशकदेखि पर्याप्त चर्चामा रहेका छन् । यसै समयावधिमा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागबाट युवराज मैनालीको जीवनी, व्यक्तित्व र कृतित्व (२०७२) शीर्षक स्नातकोत्तर स्तरीय शोधपत्र पनि तयार भइसकेको छ ।

समालोचक, कथाकार र निबन्धकार युवराज मैनाली भानु मासिक, दायित्व वाङ्मय प्रतिष्ठान, सुरभि साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाजजस्ता साहित्यिक सङ्घसंस्थाको आजीवन सदस्यसमेत रहेका छन् । विभिन्न पत्रिका र साहित्यिक सङ्घसंस्थाको संरक्षक एवं आजीवन सदस्यसमेत रहेका मैनाली मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका आजीवन सदस्य पनि हुन् ।

युवराज मैनाली सरकारी जागिरकै सिलसिलामा जानपद सेवा पदक र दीर्घसेवा पदकबाट पनि विभूषित भएका छन् । साहित्यका क्षेत्रमा यिनी भैरव प्रतिभा पुरस्कार (२०७३), एक हजार अमेरिकी डलर राशिको अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार (२०७६), खिल शर्म–राजीवलोचन जोशी स्मारक पुरस्कार (२०७६) लगायतका पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

कथालेखनबाट साहित्य यात्रा प्रारम्भ गरी निबन्ध, समालोचना हुँदै पुनः कथाकै एउटा ढाँचा लघुकथाका माध्यमबाट प्रस्तुत भएका मैनाली पृथक् बाटो (२०७६) शीर्षक बृहत् आयामको कृति प्रकाशन गरी लघुकथाकार व्यक्तित्वका रूपमा देखापरेका छन् । यस आलेखमा यही कृतिको विश्लेषण परी यिनका लघुकथाकारिताको निरूपण गरिएको छ ।

२. लघुकथाको सैद्धान्तिक स्वरूप
लघुकथालाई कतिपयले भ्रमवश अङ्ग्रेजी कजयचत कतयचथ को नेपाली रूपान्तरण भन्ने गरेको पनि पाइन्छ तर यो भनाइ ठीक होइन । लघुकथा अङ्ग्रेजीको Short–Short Story वा Short Story को नेपाली रूपान्तरण हो । कथामा जोडिएर आएको लघु शब्दको तात्पर्य हीन वा निम्नस्तरको भन्ने होइन । शाब्दिक अर्थका दृष्टिले हेर्दा लघुकथा सानो वा छोटो आयामको कथा हो । लघुकथा सानो वा छोटो आयाममा संरचित भए पनि यो कथा (Short–Story) लाई छोट्ट्याएर बनाइएको सङ्क्षिप्त रूप भने होइन । आख्यानअन्तर्गत आउने एउटा प्रमुख विधा कथाकै एउटा प्रकारका रूपमा यसलाई लिइन्छ । लघुकथामा आख्यानको अनिवार्यता रहन्छ । लघुकथा आख्यान निरपेक्ष हुँदैन अनि यसमा कथाझैँ लामो आख्यान पनि हुँदैन । आयामगत लघुता र संरचनागत पूर्णता यसको परिचायक अभिलक्षण वा खास पहिचान हो । यसर्थ सामान्य कोशीय अर्थबाट मात्र लघुकथालाई परिभाषित गरी अथ्र्याउनु उपयुक्त हुँदैन । लघुकथालाई यसरी परिभाषित गरिन्छ:

गृहीत विषयवस्तुलाई सङ्क्षिप्त आयाममा सूत्रात्मक ढङ्गले प्रस्तुत गरिएको स्वयंमा पूर्ण गद्याख्यानात्मक भाषिक संरचनालाई लघुकथा भनिन्छ ।

संस्कृत साहित्यमा वा पश्चिमी साहित्यमा पाइने छोटा आयामका आख्यानमूलक रचनालाई लघुकथाका प्रारम्भिक रूप मान्नसकिन्छ । संस्कृत साहित्यमा लघुकथाबारे सैद्धान्तिक चर्चा नपाइए पनि पश्चिमी साहित्य र नेपाली साहित्यमा यसबारे चर्चापरिचर्चा भएको पाइन्छ । कतिपय पश्चिमी विद्वान्हरूले लघुकथालाई एक पृष्ठमा आबद्ध आख्यानात्मक रचना, कतिपयले एक सयभन्दा कम शब्दमा लेखिएको आख्यान र कतिपयले पाँच सय वा सोभन्दा बढी शब्दमा लेखिएको आख्यान भनी अर्थ्याएको पाइन्छ । गोरो छाला भएका व्यक्तिहरूले अङ्ग्रेजी माध्यममा लेखेका जस्तासुकै र जेसुकै कुरालाई आधिकारिक ठान्ने हाम्रो नेपाली मानसिकताका कारण नेपालीमै पनि यस्तैयस्तै ढङ्गबाट अथ्र्याएको देखिन्छ ।

वास्तवमा लघुकथा पृष्ठसीमा, शब्दसीमा, वाक्यसीमा वा समयसीमामा आबद्ध गरेर अथ्र्याउने रचना होइन । यसर्थ लघुकथालाई यति पृष्ठको, यति शब्दको, यति वाक्यको वा यति समयमा पढिसकिने भनी किटान गर्न मिल्दैन । आख्यानको आकस्मिक उठान, संक्षिप्त एवं तीव्र विस्तार र आकस्मिक बैठान गरिएको रचना लघुकथा हुन्छ । छोटो समयमा पढिसकिने र मनमस्तिष्कलाई चस्स घोच्ने वा रन्थन्याउने क्षमता लघुकथामा हुनुपर्छ ।

सङ्क्षिप्तता, सूत्रात्मकता, साङ्केतिकता, आकस्मिकता र स्वयंमा पूर्णता लघुकथामा अपरिहार्य हुन्छ । यस सन्दर्भबाट हेर्दा यसमा गृहीत विषयको व्यापक र विस्तृत विस्तार नगरी छोटोछरितो रूपमै अभिव्यक्त गर्न खोजेको मूल कथ्यलाई सकेसम्म थोरै शब्दमा व्यक्त गरिनुपर्छ । आयामगत सङ्क्षिप्तताका कारण यसमा घटनाको व्याख्या नगरी सङ्केतबाटै घटनालाई प्रस्तुत गरिन्छ । यसमा प्रयोग गरिने भाषा बढी सूत्रात्मक, सङ्केतात्मक एवं प्रतीकात्मक हुने गर्छ । यस सन्दर्भबाट हेर्दा लघुकथा साङ्केतिक एवं प्रतीकात्मक हुनसक्ने भएकाले यो सहज बोध्य नहुन पनि सक्छ तर कुशल लघुकथाकारले यसलाई सरल ढङ्गमा पनि प्रस्तुत गर्नसक्छ । लघुकथाको भाषामा बिम्ब (Image), प्रतीक (Symbol र मिथ (Myth) को आधिक्य रहने हुँदा लघुकथामा सङ्केत (sign), सङ्केतक (signifire) र सङ्केतित (signified) को विशेष भूमिका रहन्छ ।

वर्तमान समयमा लघुकथा लेखनको क्षेत्र पर्याप्त विस्तार भएको हु“दा यसमा विषयवस्तुगत विविधता पाइन्छ । यसर्थ लघुकथा यति नै प्रकारका हुन्छन् भनी किटान गर्न सहज नभए पनि कथा र लघुकथाका प्रकार लगभग उस्तै हुन्छन् । पछिल्लो समयमा प्रशस्तै सिर्जना गरिएको लघुकथा लोकप्रिय आख्यानात्मक साहित्यिक उपविधा हो । लघुकथाको लेखनगत विविधताका कारण यसको वर्गीकरणमा पनि विविधता र अनेकता देखिनु स्वाभाविकै हो । लघुकथालाई अनेक प्रकारले वर्गीकरण गरिएको पाइए पनि यो आख्यानकै एउटा प्रभेद भएकाले आख्यान साहित्यको वर्गीकरण गर्ने प्रमुख आधार विषयवस्तु, वाद, धारा वा प्रवृत्ति, प्रस्तुतिगत प्रधानता, शैली, परिणति वा प्रभाव, सङ्गठन आदिकै आधारमा लघुकथाको पनि वर्गीकरण गर्नु उपयुक्त हुन्छ ।

लघुकथामा प्रयुक्त विषयवस्तु वा कथानक स्रोतका आधारमा लघुकथालाई सामाजिक, ऐतिहासिक, मनोवैज्ञानिक, राजनैतिक, सांस्कृतिक, धार्मिक–पौराणिक, दार्शनिक, अतिप्राकृतिक, वैचारिक, रहस्य–रोमान्समूलक आदि प्रकारमा विभाजन गरिन्छ । लघुकथामा अभिव्यञ्जित वाद, धारा वा प्रवृत्तिका आधारमा लघुकथालाई आदर्शवादी, यथार्थवादी (आदर्शाेन्मुख यथार्थवादी, ऐतिहासिक यथार्थवादी, सामाजिक यथार्थवादी, समाजवादी यथार्थवादी, आलोचनात्मक यथार्थवादी, मनोविश्लेषणात्मक यथार्थवादी) स्वच्छन्दतावादी, प्रयोगवादी (अस्तित्ववादी–विसङ्गतिवादी, प्रकृतवादी, अतियथार्थवादी, विनिर्माणवादी, नारीवादी) आदि प्रकारमा विभाजन गर्नसकिन्छ । प्रस्तुतिगत प्रधानता वा लघुकथामा प्रयुक्त घटना, चरित्र, परिवेशका आधारमा लघुकथा घटनाप्रधान, चरित्रप्रधान, परिवेशप्रधान आदि प्रकारमा विभाजन गरिन्छ । लघुकथामा प्रयुक्त शैलीका आधारमा लघुकथालाई वर्णनात्मक, आत्मकथात्मक, संवादात्मक/नाटकीय, पत्रात्मक, दैनिकीमूलक आदि प्रकारमा विभाजन गर्नसकिन्छ । परिणति वा प्रभावका आधारमा लघुकथालाई सुखान्त र दुखान्त तथा सङ्गठनका आधारमा सरल (क्रमिक) र जटिल (व्यतिक्रमिक) प्रकारमा विभाजन गरिन्छ । यसै गरी दृष्टिबिन्दुका आधारमा लघुकथालाई प्रथम पुरुषात्मक र तृतीय पुरुषात्मक प्रकारमा विभाजन गर्नसकिन्छ । पछिल्लो समयका कतिपय लघुकथामा कवितात्मकता, निबन्धात्मकता, नाटकीयताको सम्मिश्रण पनि पाइन्छ । यसरी विभिन्न आधारमा विभिन्न प्रकारले वर्गीकरण गर्नसकिने लघुकथा यथार्थमूलक, काल्पनिक वा मिश्रित हुनसक्छ ।

लघुकथाको आयाम सङ्क्षिप्त भए पनि यसमा कथानक, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, भाषाशैलीय विन्यासजस्ता कथा वा आख्यानका संरचक घटक वा तत्वहरू अनिवार्य हुन्छन् ।

लघुकथामा कथानक विस्तार सामान्यतया आदि, मध्य र अन्त्यको क्रममा क्रमिक ढङ्गले भए पनि यसलाई व्यतिक्रमिक ढङ्गमा पनि प्रस्तुत गर्नसक्ने स्थिति रहन्छ । यसमा गृहीत विषयवस्तु यही नै हुनुपर्छ भन्ने छैन । त्यो सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, नैतिक, राजनैतिक, आर्थिक आदि जे पनि हुनसक्छ । यसमा कथानकको विस्तारमा न्यूनता रहन्छ । अधिकांश लघुकथाको प्रारम्भ र समापन आकस्मिक रूपमा गरिन्छ । अझ समापनमा पाठकको जिज्ञासा पूर्ण नहुँदै समाप्त गरिने हुँदा त्यसले पाठकलाई निकै बेर चिन्तनशील/सोचमग्न तुल्याउनसक्छ । यसपछि के हुन्छ भन्ने सोच्तासोच्तै कथा समाप्त गरिने हुँदा त्यसपछिको परिणतिका बारेमा पाठक स्वयंले आआफ्नै ढङ्गबाट अनुमानित निष्कर्ष निकाल्नुपर्ने हुन्छ ।

लघुकथाको कथानकलाई तीव्रता प्रदान गर्ने काम सहभागीले गर्दछन् । लघुकथामा प्रयुक्त सहभागीहरू मानवीय–मानवेतर, अनुकूल–प्रतिकूल, स्थिर–गतिशील, वर्गीय–व्यक्ति जे पनि हुनसक्छन् । लघुकथामा सहभागीको सङ्ख्या न्यून रहन्छ भने तिनको चरित्रचित्रण पनि साङ्केतिक रूपमा गरिएको हुन्छ । यसमा सहभागीको सहभागिता वा चरित्रचित्रणको न्यूनता रहन्छ ।

लघुकथामा कथानकझैँ परिवेश विस्तारको न्यूनता रहन्छ । लघुकथामा परिवेशसूचक स्थान र समयको किटान हुन वा नहुन पनि सक्छ भने वातावरण कुनै न कुनै ढङ्गमा प्रस्तुत भएकै हुन्छ । गृहीत कथ्य खास उद्देश्य वा प्रयोजनका लागि नै प्रस्तुत गरिने हुँदा यसमा कुनै न कुनै प्रकारको सन्देश प्रवाहित भएकै हुन्छ । कुनै विषयवस्तुलाई लिएर युगीन यथार्थका तत्तत् पाटाको प्रकटीकरण गर्नु लघुकथा लेखनको खास उद्देश्य हुन्छ । लघुकथा प्रथम वा तृतीय पुरुष दृष्टिबिन्दुमा प्रस्तुत गरिन्छ र यसमा कुनै न कुनै प्रकारका विचारको प्रवाह गरिन्छ ।

लघुकथामा प्रयुक्त भाषाशैलीय विन्यास छोटोछरितो, सूत्रात्मक, सङ्केतात्मक, बिम्बात्मक, प्रतीकात्मक हुनाका साथै प्रभावकारी पनि हुन्छ भने कतिपय ठाउँमा प्रकृतिको मानवीकरण पनि गरिएको हुन्छ । लघुकथामा काव्यात्मक भाषाको प्रयोग गर्न पनि सकिन्छ । कतिपय लघुकथाकारहरूले भाषाशैलीय प्रयोगमा सहजता र स्वाभाविकताभन्दा कृत्रिमतालाई अनुसरण गर्ने हुँदा त्यस्ता लघुकथाहरू सहज पठनीय हुँदैनन् । यसर्थ लघुकथाको भाषाशैली सहज र स्वाभाविक हुनुपर्छ । लघुकथाको भाषा जति सहज र स्वाभाविक भयो त्यसले प्रवाह गर्ने विचार वा सन्देश पनि त्यत्तिकै प्रभावकारी र चित्ताकर्षक हुन्छ ।

जीवनजगत्का यावत् विषयवस्तुमा लेख्नसकिने भए पनि लघुकथामा वर्णनको न्यूनता रहने हुँदा साङ्केतिक रूपमा प्रस्तुत गरिएका कारण कतिपय लघुकथा दुर्बाेध हुनसक्ने स्थिति पनि रहन्छ । कतिपय लघुकथामा अप्रचलित वा कम प्रचलित बिम्ब, प्रतीक, मिथ आदिको अधिक प्रयोग गरि“दा ती सहज पठनीय, ग्रहणीय र प्रभावकारी नहुन सक्छन् । सूत्रात्मक र सङ्केतात्मक रूपमा चित्रित परिवेश पनि सहज ग्राह्य नहुन सक्छ । यसको तात्पर्य सबै लघुकथा अभिधात्मक हुनुपर्छ भन्ने होइन त्यो ध्वन्यात्मक, व्यङ्ग्यात्मक, चित्रात्मक, बिम्बात्मक वा प्रतीकात्मक हुनसक्छ तर त्यसैका कारणले प्रभावहीनचाहिँ बनाउनु हुन्न । यसतर्फ लघुकथा लेखक सचेत हुनु जरुरी छ ।

३. पृथक् बाटो लघुकथासङ्ग्रहको विश्लेषण
युवराज मैनालीको पृथक् बाटो शीर्षक लघुकथासङ्ग्रह निकै बृहत् आयामको छ र यसलाई सरदरका तीनवटा लघुकथा सङ्ग्रह बनाउन सकिन्छ । नेपालीमा यति धेरै लघुकथाहरू एकै ठाउँमा समेटेर हालसम्म प्रकाशन गरिएको कमै पाइन्छ । यसमा सङ्कलित लघुकथाहरूको विन्यास शीर्षकको वर्णानुक्रममा गरिएको छ । संरचनाका दृष्टिले हेर्दा यस सङ्ग्रहमा सङ्कलित खोज शीर्षक लघुकथा चार वाक्यमा आबद्ध छ भने अन्य केही दस वाक्यभन्दा कमका लघुतम आकारका छन् भने छेस्कालगायतका केही लघुकथा अलि लामा खालका पनि छन् तर तिनले लघुकथाको आयाम पार गरी कथाको आयाम भने समातेका छैनन् । यस कोणबाट पनि यस कृतिलाई पृथक् र नवीन मान्नसकिन्छ ।

लघुकथाकार युवराज मैनालीको यस सङ्ग्रहका लघुकथामा विषयगत विविधता पाइन्छ । यसमा सर्वाधिक महत्व वर्तमान युगीन सामाजिक एवं राजनैतिक विषयवस्तुले पाएको देखिन्छ । वर्तमान नेपालमा व्याप्त अव्यवस्था र अस्तव्यस्तताको स्वाभाविक चित्रण गरिएको यस सङ्ग्रहका लघुकथामा वर्तमान नेपालको राजनैतिक दुरवस्था, महंगी, आधुनिकताका नाममा भित्रिएका विकृति आदिको प्रस्तुति पनि सहजतापूर्वक गरिएको छ । यिनका लघुकथामा वर्तमान युवापुस्तामा व्याप्त उच्छृङ्खलता, वर्तमानमा युवाहरूको दुर्नियति, सरकारी बेवास्ताका कारण विदेश पलायन हुन बाध्य होनहार युवाहरूको चित्रण, विदेसिएकाहरूका घरको अव्यवस्था, सर्वत्र व्याप्त बेथिति, अनैतिक चरित्रको बहुलता, यौनजन्य क्रियाकलाप, लेखकहरूको दयनीय यथार्थजस्ता अनेकानेक विषयवस्तुको कथात्मक प्रस्तुति पाइन्छ । यिनका कतिपय लघुकथामा स्वैरकल्पनाको पनि प्रयोग गरिएको छ ।

युवराज मैनालीको यस सङ्ग्रहका लघुकथामा वर्तमान नेपालको अव्यवस्था र अस्तव्यस्ताको चित्रण अनिष्ट शीर्षक लघुकथामा पाइन्छ भने देशमा व्याप्त महँगीको चित्रण अवस्था–व्यवस्था, जोहो शीर्षक लघुकथामा पाइन्छ । यसैगरी जिर्णाेद्धारजस्ता कतिपय लघुकथामा ऐतिहासिक सन्दर्भको यथार्थमूलक प्रस्तुति गरिएको छ भने आजका अर्जुन, कतारा, कमाल, मर्द को नामर्द को ? जस्ता कतिपय लघुकथामा पौराणिक सन्दर्भका माध्यमबाट वर्तमान नेपाली राजनीतिको चित्रण गरिएको छ । नेपालमा व्याप्त भ्रष्टाचारको चित्रण कोल्टोलगायतका कथामा पाइन्छ ।

परिवर्तनलगायतका अनेक लघुकथामा विदेश पलायन हुन बाध्य होनहार युवाहरूका दयनीय स्थितिको चित्रण पाइन्छ भने नियति शीर्षक लघुकथामा बिदेसिएका युवाहरूका नियतिको मार्मिक चित्रण गरिएको छ । वर्तमान युवापुस्ताको उच्छृङ्खल व्यवहारलाई मूल्यमान्यता शीर्षक लघुकथामा स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ ।

द्वन्द्वका नाममा हुने निर्दाेषहरूका हत्याको चित्रण टाटो शीर्षक लघुकथामा गरिएको छ भने आतुरी, के छ के छैन, बढुवालगायत अनेक कथामा युगीन राजनैतिक बेथितिप्रति व्यङ्ग्य प्रहार गरिएको छ । सर्वत्र व्याप्त बेथितिको चित्रण दैनिकी शीर्षक लघुकथामा पाइन्छ भने चरित्र, चलन शीर्षक लघुकथामा युगीन बेथितिजन्य यथार्थको जीवन्त चित्रण पाइन्छ । वातावरणीय प्रदूषणको यथार्थमूलक चित्रण शुद्धीकरण शीर्षक लघुकथामा भेटिन्छ भने आधुनिकताका नाममा देखापरेका विकृतिको जीवन्त चित्रण आधुनिकता शीर्षक लघुकथामा भेटिन्छ । यिनको प्रतिस्पर्धा शीर्षक विज्ञान विषयक लघुकथामा चरम वैज्ञानिक आविष्कारबाट उत्पन्न हुनसक्ने भयावह परिस्थितिको चित्रण गरिएको छ भने शून्य शीर्षक लघुकथामा जीवनको निस्सारता र शून्यताको अभिव्यक्ति गरिएको छ । करामतलगायत विभिन्न लघुकथामा वर्तमान युगीन सामाजिक सञ्जाल फेसबुकबाट उत्पन्न बेथितिको चित्रण छ भने गन्थन शीर्षक लघुकथामा अङ्ग्रेजी मिश्रित नेपाली भाषिक प्रयोगका बिगबिगीप्रति व्यङ्ग्य हानिएको छ ।

नयाँ बाटोलगायतका कतिपय लघुकथामा यौनजन्य सन्दर्भको अभिव्यक्ति गरिएको छ भने नैतिकता शीर्षक लघुकथामा अनैतिक चरित्रलाई उदाङ्गो पारिएको छ । मानवीय स्वार्थीवृत्तिको चरम रूप बाध्यता, स्वार्थ शीर्षक लघुकथामा अभिव्यञ्जित छ भने सङ्कटग्रस्त मानवीय अस्मिताको चित्रण हो र त्यो आउ“दैछ ? शीर्षक लघुकथामा अभिव्यञ्जित छ । पाखण्ड, पाठक, पुरस्कारजस्ता लघुकथामा लेखक, साहित्यकार र पाठकप्रति व्यङ्ग्य प्रहार गरिएको छ । साहित्यिक क्षेत्रमा व्याप्त चरम बेथितिको प्रस्तुति पुरस्कार शीर्षक लघुकथामा सुन्दर ढङ्गमा गरिएको छ भने लेखकीय यथार्थको चित्रण पाखण्ड शीर्षक लघुकथामा गरिएको छ ।

भविष्यवेत्ता शीर्षक लघुकथामा जोखना हेर्नेजस्ता लोकसन्दर्भको अभिव्यक्ति पाइन्छ भने नपत्याउनु कसरी ? प्रतिस्पर्धा जस्ता कतिपय लघुकथामा स्वैरकल्पनाको प्रयोग पाइन्छ । वर्तमान नेपालको सामाजिक र राजनैतिक क्षेत्रमा मात्र नभएर युगीन बेथिति, विकृति, विसङ्गतिको चित्रण भने अधिकांश लघुकथामा गरिएको छ ।

युवराज मैनालीको यस सङ्ग्रहमा सङ्कलित लघुकथामा विभिन्न खाले सहभागीको प्रयोग पाइन्छ । कतिपय सहभागी नामधारी छन् भने म पात्र र ऊ पात्रका रूपमा रहेका छन् । लघुकथामा जुन खालका र जेजस्ता पात्रको प्रयोग गरिएको भए पनि तिनले गृहीत कथ्यलाई सहजतापूर्वक समापनसम्म पुर्याउन उल्लेख्य भूमिका निर्वाह गरेका छन् ।

यस सङ्ग्रहमा सङ्कलित लघुकथामा परिवेशगत विविधता पनि पाइन्छ । केही कथामा स्थानको उल्लेख भए पनि अधिकांशमा स्थानको उल्लेख नभएकाले ती सार्वस्थानिक बन्नपुगेका छन् । यसैगरी केही कथामा समय सङ्केतित भए पनि अधिकांश कथामा समय सङ्केतित छैन तापनि यसको समयले वर्तमान युगलाई स्पष्ट बोध गराउ“छ । वातावरणका दृष्टिले वर्तमान युगीन बेथितिको प्रस्तुति बढी पाइने हुँदा यसमा उज्यालाभन्दा अँध्यारा पाटाको आधिक्य रहेको देखिन्छ ।

विषयवस्तु र प्रस्तुतिगत विविधता पाइए पनि यस सङ्ग्रहमा सङ्कलित लघुकथाको खास उद्देश्य वर्तमान युगीन राजनैतिक, सामाजिक आदि क्षेत्रमा व्याप्त विसङ्गत र विकृत यथार्थको प्रकटीकरण गर्नु रहेको देखिन्छ । यस सङ्ग्रहका लघुकथामा प्रथम र तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग पाइन्छ भने सबैजसो लघुकथा स्पष्ट विचारबाट अनुप्राणित छन् । विचारको प्रस्तुति अभिधात्मक ढङ्गमा नभई व्यङ्ग्यात्मक र प्रतीकात्मक ढङ्गमा गरिएको पाइन्छ तर यसमा प्रस्तुत विचार कुनै राजनैतिक सिद्धान्त वा वादमा केन्द्रित नभई यथार्थमा आधारित रहेको देखिन्छ ।

काव्यात्मक भाषिक विन्यास यस सङ्ग्रहका लघुकथाको उल्लेख्य पक्ष हो । विभिन्न कथामा आनुप्रासिक संयोजन पाइने हुँदा कतिपय लघुकथा पढ्दा कविता पढेको अनुभूति हुन्छ । उखानको सार्थक प्रयोग यस सङ्ग्रहका लघुकथाको अर्काे महŒवपूर्ण पक्ष हो । यस सङ्ग्रहका विभिन्न लघुकथामा अङ्ग्रेजी शब्द र वाक्यको प्रयोग पनि पाइन्छ । यसमा सङ्कलित लघुकथामध्ये केही सरल छन् भने केही जटिल खालका पनि छन् ।

४. निष्कर्ष
युवराज मैनालीको यस सङ्ग्रहमा सङ्कलित लघुकथाको उल्लेख्य पक्ष प्रयोगशीलता हो । यो कथ्य र शिल्प दुवै क्षेत्रमा पाइन्छ । यिनका कतिपय लघुकथामा कविता, निबन्ध र नाटकको सम्मिश्रण भेटिन्छ भने कतिपय कथामा परम्परालाई भत्काइएको भेटिन्छ । यही प्रयोगशीलताका कारण यिनका कतिपय लघुकथा सामान्य पाठकका लागि अलि क्लिष्ट र दुर्बाेध पनि हुनपुगेका छन् । यिनका लघुकथाबाट विरेचन प्राप्त गर्न मन र मस्तिष्क दुवैको सन्तुलित प्रयोग गरिनुपर्छ । यस सङ्ग्रहका लघुकथा कुनै तत्काल करेन्ट लाग्ने खालका छन् भने कुनै निकै पछि मात्र सुस्तरी करेन्ट लाग्ने खालका छन् ।

यस सङ्ग्रहमा सङ्कलित धेरजसो लघुकथामा हास्यव्यङ्ग्यकार युवराज मैनालीको प्रत्यक्ष प्रभाव परेको देखिन्छ भने कतिपयमा समालोचक युवराज मैनालीको झझल्को पनि भेटिन्छ । मैनालीले यस लघुकथा सङ्ग्रहका माध्यमबाट आपूmलाई उल्लेख्य लघुकथाकारका रूपमा स्थापित गर्नाका साथै नेपाली लघुकथाका क्षेत्रमा विशिष्टता प्रदान गरेका छन् र यिनको लघुकथा लेखनकौशल पनि विशिष्ट रहेको छ । यस सङ्ग्रहका लघुकथाहरूको खास पहिचान विषयगत विविधता, परम्परबाट पृथक्ता, व्यङ्ग्यात्मकताको प्रबलता, स्पष्टता र निर्भीकता रहेको छ । समग्रतः यस सङ्ग्रहमा सङ्कलित लघुकथालाई हेर्दा अनेकौ“ लघुकथाको कथ्य र शिल्प दुवै प्रचलित परम्पराभन्दा पृथक् र नवीन बाटोतर्फ उन्मुख भएकाले यसको मूल शीर्षक पृथक् बाटो सान्दर्भिक एवं सामञ्जस्यमूलक छ । यी सबै सन्दर्भबाट हेर्दा युवराज मैनालीको लघुकथाकारिता उल्लेख्य रहेको छ ।

त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर, काठमाडौं

============
बिआरटी नेपाल डट कममा प्रकाशित लेख हुबहु साभार नगर्न हुन बिनम्र अनुरोध गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ । धन्यवाद ।