अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

देशभर रगत सकियो, रक्तदान गर्न रेडक्रसको आग्रह

बिआरटीनेपाल २०७७ भदौ ७ गते ६:१७ मा प्रकाशित

लामो समयको बन्दाबन्दी र निषेधाज्ञा जस्ता कारणले गर्दा देशैभर रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।कोरोना भाइरसका कारण गरिएको लकडाउनले रक्तदान हुन नसक्दा रगत अभाव भएको रेडक्रसले जनाएको हो ।केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि सम्पूर्णमा अपील गरेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाकाअनुसार रक्तदानका लागि बुक गरिएका अधिकांश क्याम्पहरु निषेधाज्ञाका कारण स्थगित भएका छन् ।रगतको अभाव हुँदा दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरु मर्कामा परेका छन् ।

रगत खोज्दै केन्द्रीय रक्तसञ्चार केन्द्रमा मानिसहरु पुगे पनि पर्याप्त रगत आपूर्ति गर्न नसकिएको सेवाका निर्देशक पवन गुप्ताले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ । काठमाडौंका अतिरिक्त धरान, विराटनगर, चितवनलगायत स्थानमा पनि रगत अभाव भएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो ।

अधिकांश ठाउँमा निषेधाज्ञा लागेको र आसपासका जिल्लाहरुबाट पहिलेजस्तो सहयोग हुनसक्ने परिस्थिति नरहेको पनि बताइएको छ । सुरक्षित तवरले रक्तदान गर्दा वा गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संगठनले यसअघि नै स्पष्ट पारिसकेको भन्दै रेडक्रसले रक्तदानका लागि आह्वान गरेको छ ।

प्रतिक्रिया