अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

तिम्रो अनुपस्थितिमा

नवराज न्यौपाने 'मौन' २०७७ भदौ ६ गते ८:५७ मा प्रकाशित

तिमी दूर गएपछि
घर सुनसान बगर भएको छ
रहर टुटेर खण्डहर भएको छ
भन्न त भन्छन् मान्छेहरू
गाउँ बदलिएर सहर भएको छ
तर यो जीर्ण तन र विदीर्ण मन लिएर
बाँच्न निकै कहर भएको छ

चाँदनी रातमा जून हेर्दै तिमी
म हिड्दा जून पनि हिँड्छ भन्थ्यौ
र,जून छुने कुरा गर्थ्यौ
बिहानी घाममा तिमी
गाँस टिपेर स्कुल दगुर्थ्यौ
र, फर्केर तिमी राम हुने कुरा गर्थ्यौ
समयले कहाँ पुर्‍यायो अहिले
पहिले त तिमी हाम्रो निम्ति
सुनौलो याम हुने कुरा गर्थ्यौ
भुल्न नसकिने नाम हुने कुरा गर्थ्यौ

तिम्रो अनुपास्तिथिमा
अचेल यो मन उत्तरी ध्रुव भएको छ
जहाँ कुनै चाहनको सूर्य उदाउँदैन
जहाँ कुनै प्रेरणाको चन्द्र चम्कँदैन
गति लिएको जीवन
र मति लिएको मान्छेलाई
यत्ति मात्र भन्नु छ कि
मान्छे जहाँ गए पनि
कर्तव्यबाट उम्कदैन
दायित्वबाट खुम्चँदैन