अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

होली र बा

शिव पलाँस २०७७ भदौ ५ गते ११:५९ मा प्रकाशित

जिन्दगीभरि होली खेलेर पनि
किन श्याम श्वेत छ बा को अनुहार
आफैलाई प्रश्न सोध्छु
र अनुत्तरित हुन्छु ।

बर्सेनि बा ले
वैशाखमा रातमाटे खन्छन्
र राता बनाउँछन् हातहरू
असारभरि कालीमाटी जोत्छन्
र काला बनाउछ्न् खुट्टाहरू
बनको हरियो घाँस
बा कै बुई चढेर घर जान्छ
खेतको पहेँलो धान
बा कै पाखुरामा टाँसिन आउँछ
फेरि पनि किन फिक्का छ बा को जिन्दगी
पुछिएको सिउँदो जस्तो ?

पसिनाको निलो
हरेक दिन निधारमा पोखिन्छ
सेतो हड्डी
हरेक दिन ढुङ्गामा घोटिन्छ
फेरि किन ल्याउँदैन
जिन्दगीको घाम पानीले
बा को आँखामा सप्तरङ्गी इन्द्रेणी !?
आफैलाई प्रश्न सोध्छु
र अनुत्तरित हुन्छु ।

 

===================
शिव पलाँस
हाल – अमेरिका, नर्थ क्यारोलिना

प्रतिक्रिया