अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४ | Colorodo: 19:49

मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही क्षेत्रमा भारी वर्षा हुने

बिआरटीनेपाल २०७७ भदौ ४ गते ६:२७ मा प्रकाशित

देशभरको मौसम बिहीबार सामान्य बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेकाले मौसम बदली भएको हो ।

अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू–भागका केही स्थानमा वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भएको मौसमविदले बताएका छन् । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत हुनेछ ।

देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू