अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेकपा अध्यक्ष प्रचण्डको आपत्ति

बिआरटीनेपाल २०७७ भदौ ४ गते ६:२३ मा प्रकाशित

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाउनुभएको छ । उत्कर्षमा पुगेको नेकपा विवाद समाधानतर्फ उन्मुख भइरहेका बेला ओली सहमति विपरीत अघि बढेपछि अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवद्धतामा टिक्न ओलीलाई आग्रह गर्नुभएको हो ।

बिहीबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षको भेटमा प्रचण्डले सरकार र पार्टीका सबै काम सल्लाहमा गर्ने सहमति भएको र त्यसैको जगमा कार्यदलले काम गरिरहेको अवस्थामा राज्यका विभिन्न निकायमा गरिएको नियुक्ति खारेज गर्न आग्रह गर्नुभएको बुझिएको छ । जवाफमा ओलीले पूर्व निर्धारित भइसकेका विषयलाई मात्रै क्याबिनेटले निर्णय गरेको बताउनुभयो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा राजनीतिक नियुक्ति गर्ने निर्णय गरेको थियो। सरकारले प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारी, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डा. देवराज रोक्का र समाज कल्याण परिषदको कोषाध्यक्षमा लोकमान सुवेदीलाई नियुक्त गरेको थियो। भण्डारी नियुक्ति भने सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। त्यस्तै सरकारले राजश्व बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल र सदस्यमा पूर्वसहसचिव निर्मलहरि अधिकारीलाई नियुक्त गरेको थियो। यसरी नियुक्ति पाउनेहरुमा सबै ओली निकट रहेका छन् ।

यसैबीच, पार्टीभित्र देखिएको विवाद समाधानका लागि साउन ३० गते दुई अध्यक्षले गठन गरेर सचिवालयले अनुमोदन गरेको ६ सदस्यीय कार्यदलले काम अन्तिम चरणमा पुर्याएको छ । ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने, प्रचण्डलाई दिइएको कार्यकारी अध्यक्षको अधिकार थप व्यवस्थित र व्याख्या गर्ने, सरकारका सबै निर्णय पार्टीको सहमितमा हुने, चैतमा तोकिएको महाधिवेशन सुनिश्चित हुने गरी तत्काल काम अघि बढाउने लगायका विषय समेटेर कार्यदलले प्रारम्भिक प्रतिवेदन दुवै अध्यक्षलाई बुझाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू