अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

नेकपा विवाद समाधानका लागि महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:१६ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको सत्ता संघर्ष अन्त्य गर्नका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विहीबार र शुक्रवार लगातार भएको छलफलपछि विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनाउने सहमति बनेको हो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा ३ गूटका २÷२ जना सदस्य राखिएको छ । जसमा ओली पक्षबाट महासचिव पौडेल र शंखर पोखरेल, प्रचण्ड पक्षबाट जनार्दन शर्मा र पम्फा भुषाल एवं नेता माधव नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेलाई कार्यदलमा राखिएको छ । यस पटक नेपाल पक्षको समेत समान हैसियत रहने गरी कार्यदल बनाउन अध्यक्ष ओली तयार भएकाले तीनै गूटका २/२ जना सदस्य राखिएको हो ।

यसअघि अध्यक्षद्वयसहित दोस्रा तहका नेताहरु बसेर छलफल गरे पनि कुनै निकास निस्किएको थिएन । कार्यदललाई सहमतिको खाका तयार पारेर ल्याउन भनिएको छ । पार्टीमा उत्पन्न समस्या कसरी समाधान गर्ने भन्नेबारे कार्यदलले अध्यक्षद्वयलाई सिफारिश गर्ने, त्यसैलाई टेकेर दुई अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्ने र त्यसपछि मात्र स्थगित स्थायी कमिटी बैठक चलाउने विषयमा नेताहरुले सहमति गरेका हुन् ।

बिहीबारको छलफलमा अध्यक्ष ओलीले दाहाललाई थप कार्यकारी अधिकार दिने, केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने, आउँदो चैतमा महाधिवेशन गर्ने र आफू पूरै कार्यकाल प्रधानमन्त्री बन्ने प्रस्ताव गर्नुभएको थियो ।ओलीको प्रस्तावमा दाहालले नेताहरु माधव नेपाल, झलनाथ खनाललगायतसँग छलफल गर्नुभएको थियो । तर उक्त प्रस्तावमा नेपाललगायत नेता सहमत नभएपछि कार्यदललाई जिम्मा दिइएको हो ।

असार १० गते शुरु भएको स्थायी कमिटी बैठक अलपत्रै छाडेका नेताहरु आ–आफ्नो खेलमा लाग्दा नेकपाको विवाद तन्किरहेको छ । प्रचण्ड–नेपालसहितका नेताले केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद त्याग्न दबाब दिइरहँदा ओलीले आफूले कुनै पद पनि नछाड्ने बरु सकेको गरेर देखाउन चुनौती दिनुभएको छ ।

प्रचण्ड–नेपाल पक्षले भने ओलीको कार्यशैलीका कारण पार्टीको साख गिरेको भन्दै दुबै पद छाड्न दवाव दिईरहेका छन् । असार १८ गतेदेखि स्थगित हुँदै आएको स्थायी समिति बैठक साउन १३ गते ओलीले एक पक्षीय रुपमा स्थगित गरेपछि कहिले बस्ने भन्ने अझै अनिश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू