अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५२ | Colorodo: 10:07

इच्छा

रश्मि भट्ट २०७७ साउन २९ गते ९:३६ मा प्रकाशित

कविता

खाटा बसिसकेका घाउहरू
जति कोट्यायो, उति उप्कन्छ
चहर्याउछ र दुख्छ
अगाडि बढ्न त दिदै दिदैन ।
पछाडि मात्र पुर्याउछ
विगत खोतलेर के गर्नु ?
जो, कसैको पनि
त्यसले त खाली हृदयभरि
चोट दिएर दर्फर्याउछ
बाँच्नु छ वर्तमान र आगतहरूमै
सम्झौता गर्न सिकौँ सबैले
केही, केही कुराहरू
आलो घाउमा नुन चुक छर्न छाडेर
तिमी मीठो संगतिको धुन
बजाइदेऊ
म सुन्दर कथा, कविता लेख्ने
कोसिस गरिरहन्छु
भलै डलर फले फलोस्
नफले नफलोस्
आलिसान महल बने बनोस्
नबने नबनोस्
तर, मेरो पर्ण कुटीमा
एक मुठी घामको उज्यालो
कहिल्यै नखोसियोस्,
शान्ति, प्रेम, अहिंसा र भाइचारा
कहिल्यै नउजाडियोस् ।।

*********************

 

रश्मि भट्ट- (काठमाडौँ)
हाल– न्यु योर्क, अमेरिका