अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

नेपाली फुटबल टिमको अभ्यास रोकियो, विश्वकप र एसियाली कप छनोट खेल स्थगित

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:४१ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी भदौ १ गते सोमबारदेखि तय भएको नेपाली टिमको प्रशिक्षण स्थगित गरेको छ ।एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियाली कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरेसँगै एन्फाले प्रशिक्षण पनि स्थगित गरिएको जनाएको हो ।

एन्फा प्रवक्ता किरण राईले एएफसीको पत्र पाएपछि सोमबारदेखि गर्ने भनिएको प्रशिक्षण पनि स्थगित गरिएको जानकारी दिनुभयो । एएफसीले असोज र कात्तिकमा तय गरेका छनोट खेलहरु बढ्दो कोरोनाभाइरसको महामारीका कारण स्थगित गरेसँगै एन्फा पनि प्रशिक्षण रोक्न बाध्य भएको हो ।

यसअघि, नेपाल सरकारले अन्य खेलकुदका गतिविधि ठप्प पारेपनि फुटबलको प्रशिक्षण गर्न भने अनुमति दिएको थियो । एन्फाले सातदोबाटोस्थित मुख्यालय ‘सिल’ गरेर एन्फा होस्टलमा ५४ जनामात्र राखेर खेलाडीहरुलाई दैनिक तीन चरणमा नियमित प्रशिक्षण दिने योजना बनाएको थियो ।

प्रतिक्रिया