अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

नेकपा अध्यक्षद्वय ओली–प्रचण्डको छलफल सकारात्मक, सहमति अघि बढेको दाबी

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:३५ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको वार्ता सकारात्मक बनेको दाबी गरिएको छ । ८ दिनपछि संवादहीनता तोड्दै भेटवार्ता गरेका दुबै अध्यक्षले पार्टीको पछिल्लो विवाद सुल्झाउने गरी सकारात्मक छलफल गरेको दाबी प्रचण्डको सचिवालयले गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान भएको ४ घण्टा लामो संवाद सकारात्मक भएकाले शुक्रबार फेरि बस्ने गरी नेताहरु छुट्टिएका छन् । महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु परिवर्तनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्नुपर्ने अडानमा प्रचण्ड–माधव नेपाल पक्ष उभिएपछि पछिल्लो समय दुई नेताबीच संवाद नै हुन सकेको थिएन । प्रधानमन्त्री ओलीको राजीनामाका विषयमा नेकपाभित्र पछिल्लो ६ महिनायता अन्तरद्वन्द्व चर्किँदा सरकारको काम प्रभावहीन भएको छ भने पार्टी कुनै पनि दिन फुट्न सक्ने अवस्थामा पुगेको छ । छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुभयो ।

यसअघि बुधबार मात्र प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र सुल्झिने दाबी गर्नुभएको थियो ।ओली र दाहालबीच साउन २० मा बालुवाटारमा छलफल भएयता कुनै संवाद हुन सकेको छैन । तर दोस्रा तहका नेता भने संवाद खुलाउने प्रयासमा लागिरहेका थिए ।नेकपामा ओलीको कार्यशैली र आचरणका कारण पार्टी र सरकारको साख गिरेको भन्दै दाहाल–माधव नेपालसहितका नेताहरु ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने पक्षमा उभिँदा ओलीले कुनै हालतमा पद नत्याग्ने अडान राख्नुभएको छ ।

उहाँले बहुमतले कार्वाही गरेर देखाउन चुनौती दिइरहनु भएको छ । ओलीमाथि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराएको अरोपसमेत प्रचण्ड–नेपाल पक्षले लगाएका छन् । असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि ओलीले दाहाललाई सोध्दै नसोधी बैठक नै स्थगित गर्दिनुभएको थियो ।

स्थगित स्थायी कमिटी नचलाउने पक्ष ओली उभिँदा अरु नेता बैठक चलाएर समाधान खोज्नुपर्ने पक्षमा छन् । अर्कातिर १ सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटीको बैठक राख्न लिखित रुपमा माग नै गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू