अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

स्व. नेम्बाङको सम्झनामा गाउँपालिकाद्वारा स्रष्टा सम्मान पुरस्कारको स्थापना

बिआरटीनेपाल २०७७ साउन २८ गते १०:५३ मा प्रकाशित

पाँचथर, फाल्गुनन्द गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका अभियन्ता स्वर्गीय अमर नेम्बाङ लिम्बूको जन्म जयन्तीको अवसर पारेर फाल्गुनन्द गाउँपालिकाले स्थापना गरेको “एक लाख धनराशिको” ‘स्वर्गीय अमर नेम्बाङ स्रष्टा सम्मान ’ मार्फत तीन जना साहित्यकार सम्मान सहित पुरस्कृत भएका छन् ।

यही साउन २३ गते स्व.नेम्बाङको ७९ औँ जन्म जयन्तीको अवसर पारेर वितरण थालिएको ‘स्वर्गीय अमर नेम्बाङ स्रष्टा सम्मान २०७७’ बाट ५० हजार नगद र ताम्र पत्र सहित सुनसरी निवासी प्राध्यापक डा. भीम खतिवडा, अमर नेम्बाङ युवा स्रष्टा पुरस्कार २०७७ को नगद ४० हजार र सम्मान पत्र सहित पाँचथर फिदिम १० का मधुराज केरुङ तथा अमर नेम्वाङ नव प्रतिभा प्रोत्साहन पुरस्कार २०७७ मार्फत नगद १० हजार र प्रशंसा पत्र सहित पाँचथर फाल्गुनन्द २ की मञ्जु नेम्बाङ पुरस्कृत भएका छन् ।

पुरस्कृत स्रष्टाहरूलाई, प्रमुख अतिथि लालीगुराँस नगरपालिका तेह्रथुमका प्रमुख अर्जुनबाबु माबोहाङ, विशेष अतिथि पूर्व राज्य मन्त्री तथा संविधानसभा सदस्य श्री प्रसाद जबेगू, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्वाङ, उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बे, नेपाली काँग्रेस पाँचथरका सभापति नरेन्द्र कुमार केरुङ,साहित्यकार प्रकाश थाम्सुहाङ, प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्री, लगायतले बधाई एवं पुरस्कार,सम्मान-पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुका साथै, स्व नेम्बाङका जीवनीका बारेमा चर्चा गरेका थिए । सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केहेरसि. चेम्जोङ, जनता समाजवादी पार्टी पाँचथरका अध्यक्ष लक्ष्मण लावती, सन्देश सुब्बा, देवेन्द्र सत्याम, गजलकार महेन्द्र विरही, युगल सुनुवार, समदर्शी काइँला, सुरेन्द्र लामिछाने, गायक खड्ग बोहरा लगायतका सर्जकहरूले रचना वाचन, स्व.नेम्वाङको चर्चा तथा सम्मानित व्यक्तिहरूलाई बधाई समेत दिएका थिए । उक्त कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, पार्टी प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि आम सर्वसाधारणका साथै तेह्रथुम, सुनसरी, झापा, इलाम र पाँचथरका साहित्यकर्मी लगायत सर्जकहरूको समेत बाक्लो उपस्थिति रहेको
थियो । गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा इको राइटर स्व. अमर नेम्बाङ लिम्बूको सम्झनामा स्थापित स्रष्टा सम्मान कार्यक्रमको थालनी गरेकोमा फाल्गुनन्द गाँउकार्यपालिकालाई सबै वक्ताहरूले धन्यवाद व्यक्त गर्दै, निरन्तरताको कामना समेत गरेको कुरा कार्यक्रमका सह-आयोजक नौलो साहित्यिक बिहान प्रतिष्ठान पाँचथरका महासचिव प्रेम ओझाले बताए । आयोजक सहोनाम्लाङ साहित्य समाजका अध्यक्ष क्षितिज विरहीको अध्यक्षतामा भएको उक्त स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रमको अवसरमा अतिथिहरूलाई आयोजक संस्थाहरू द्वारा मायाको चिनो समेत प्रदान गरेको थियो ।

उनको स्मृतिमा स्थापित अमर नेम्बाङ ट्रस्टले पनि विविध सामाजिक कार्यको लागि र छुट्टै साहित्यिक पुरस्कार स्थापना गरी गत वर्षदेखि वितरण सुरुवात गरेको छ ।

राजनीतिज्ञ तथा साहित्यकार एवं समाजसेवी स्व. नेम्बाङले तीनै क्षेत्रमा पुर्‍याएको योगदानलाई जीवन्त राख्न दिवङ्गत जनप्रतिनिधि तथा स्रष्टाका नाममा यत्तिका राशिको पुरस्कार वितरण गर्ने गाउँपालिकाको निर्णयलाई सबै स्रष्टाहरू र फाल्गुनन्दवासीले सराहनीय भनेका छन् ।

को हुन् अमर नेम्बाङ ?
अमर नेम्बाङ नेपाली साहित्यका एक विशिष्ट स्रष्टा हुन् । उनी इको राइटिङका अभियन्ता थिए ।उनको संस्मरणात्मक निबन्धहरूको सँगालो ‘सम्झनाका तरेलीहरू’ मा इको राइटिङको उत्कृष्ट प्रयोग पाइन्छ । उनको सम्झनाको तरेलीसँगै ‘अमेरिका भ्रमणका केही सम्झनाहरू’ (संस्मरण) र ‘एउटा साँझको अवसान’ कविता कृति प्रकाशित छन् । उनका दर्जनौँ लेख, संस्मरण, निबन्ध र कविता अप्रकाशित अवस्थामा छन् । पाश्चात्य साहित्यको गहिरो अध्ययन गरेका स्व.नेम्बाङको लेखन उच्च कोटिको मानिन्छ।

स्व.अमर कुमार नेम्बाङको जन्म वि.सं.१९९८ साल श्रावण २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा बाबु स्व.नयेन्द्रराज ( नरवीर) नेम्बाङ र आमा श्रीहाङ्मा (थाम्सुहाङ) नेम्बाङको कोखबाट माइला छोराको रूपमा भएको थियो । आफ्नै गाउँको सारताप स्कुलबाट अध्ययन सुरु गरेका स्व. नेम्बाङले St. Robert’s Higher Secondary School Darjeeling , West Bengal बाट 1961 मा हाइ स्कुल पास गरेका थिए र St.Joseph’s College North Point Darjeeling बाट 1966 मा Bachelor of Arts सकेका थिए। (1969) २०२५ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका नेम्बाङ पाँचथरमा लिम्बू समुदायबाट स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन् ।

आफ्नो मात्र प्रगतिले गाउँ,समाज र गाउँलेको जीवनमा कुनै परिवर्तन ल्याउन सक्दैन भन्ने मान्यता बोकेका नेम्बाङले जीवनका ऊर्जाशील जवानीहरू लोकतान्त्रिक व्यवस्था प्राप्तिसँगै गाउँ र गाउँलेको उन्नति र प्रगतिको निमित्त गाउँमै समर्पित गरेका थिए । त्यसैले केही समय अमेरिकामा बसोबास गरेका बाहेक उनको जीवनको ठुलो भाग भने गाउँकै सेवामा बितेको थियो । वि.सं.२०३३ सालमा जन पक्षीय उम्मेदवार भएर चिलिङदेन गाउँको नेतृत्व सम्हालेका स्व. नेम्बाङ पटक–पटक तत्कालीन पौवासारतापमा नेकाको तर्फबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनी वि.सं.२०७४ सालको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष निर्वाचित भई जनताको सेवामा सक्रिय थिए ।

अमर नेम्बाङको परिचय त्यो थियो, जो बौद्धिक मात्र होइन, आफ्ना उमेरका हरेक क्षण राजनीतिसँग जोडिएर गाउँबाट कहिल्यै टाढा बस्न मन नगर्ने व्यक्तित्व । जनप्रतिनिधिविहिन द्वन्द्व कालका केही वर्ष बाहेक राजनीतिक जिम्मेवारीबाट कहिल्यै पाखा बस्नु नपर्ने गरी स्थानीय नागरिकबाट अनुमोदित व्यक्ति । जीवनका उत्तरार्धमा वातावरणीय साहित्यमा गहन पदार्पण गरेका प्रकृति प्रेमी साहित्यकार । जसले सधैँ साना बालबालिका देखि वृद्धसम्मलाई एकै व्यवहार र सम्मान दिने गर्थे ।

उनी अथवा निवर्तमान गाउँपालिका प्रमुख स्व. अमर कुमार नेम्बाङले ७५३ वटै स्थानीय तहको सरकार मध्ये फाल्गुनन्द गाउँपालिकामा मात्र पहिलो पटक मातृभाषा शिक्षा पठनपाठनलाई आधारभूत तथा माध्यमिक विद्यालयमा सञ्चालन गरेकाले देशभर चर्चामा रहेका थिए ।

स्व.नेम्बाङको फाल्गुनन्द गाउँपालिका ५ नं. वडा कार्यालयले २०७५ साल माघ २६ गते आयोजना गरेको सार्वजनिक कार्यक्रममा आफ्नो मन्तव्य सकेर ड्यासमा फर्कने क्रममा अचानक बेहोस भई केही बेरमै उनको निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू