अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

अनलाइन शिक्षालाई शैक्षिक सत्रमा गणना गर्ने गृहकार्य शुरु

बिआरटीनेपाल २०७७ साउन २८ गते ७:२१ मा प्रकाशित

कोभिड–१९ का कारण प्रभावित यस वर्षको विद्यार्थी भर्ना र नियमित कक्षा सञ्चालन हुन नसकेका बेला शैक्षिक सत्र खेर जान नदिने गरी गृहकार्य शुरु गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित निकायलाई उक्त गृहकार्य गर्न निर्देशन दिएपछि गत असार १ गतेदेखि जारी रहेको वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतालाई नै चालू शैक्षिक सत्रमा गणना गर्ने तयारी भएको हो । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ का कारण क्षति भएको शैक्षिक सत्रका बारेमा सबै विकल्पका बारेमा गृहकार्य गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको छ ।

बन्दाबन्दी हटेपछि आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र त्यसको करीब दुई सातापछि विद्यालय खोल्ने तयारी गरेको सरकारले कोरोना भाइरसको जोखिममा झन् बढ्दो भएपछि हाल सञ्चालित अनलाइनलगायत वैकल्पिक माध्यमको पढाइलाई मान्यता दिने विकल्पलाई रोज्न लागिएको हो तर मुलुकका सबै भूभागमा अनलाइन वा दूर शिक्षाको पहुँच नहुने भएकाले वैकल्पिक प्रणाली प्रभावकारी नभएकाले स्वास्थ्य जोखिम नभएका स्थानमा स्थानीय तह र विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर क्रमशः विद्यालय पुनः सञ्चालन गर्न सकिने प्रस्ताव पनि आएको छ ।

हाल विद्यालय तहमा कक्षा १२ सम्म करीब ३५ हजार विद्यालय र ८० लाख विद्यार्थी छन् । विद्यालय शिक्षामा पठनपाठनसम्बन्धी पाठ्यक्रम प्रारूप २०७६ मा प्रारम्भिक बालविकासमा ५७६ कार्यघण्टा र १८ पाठ्यघण्टा, कक्षा १ देखि ३ सम्ममा ८३२ कार्यघण्टा २६ पाठ्यघण्टा, कक्षा ४ देखि १० सम्म एक हजार २४ कार्यघण्टा ३२ पाठ्यघण्टा पढनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थामा संशोधन या अन्य आवश्यक गृहकार्यका लागि आजको बैठकले परिषद्लाई कार्यादेश दिएको छ ।

केन्द्रका महानिर्देशक केशव दाहालले निर्देशन प्राप्त भएकाले विज्ञ र आफ्ना सम्बन्धित विभागसँग परामर्श गरी एक साताभित्र विकल्पसहितको सुझाव प्रस्तुत गर्ने बताउनुभयो । उहाँले हाल सञ्चालित वैकल्पिक प्रणालीको आरम्भकालदेखिको सिकाइ निरन्तरतालाई जोडेर चालू शैक्षिक सत्रमा समावेश गर्नुपर्ने देखिएको पनि उल्लेख गर्नुभयो । शिक्षा मन्त्रालयले शैक्षिक सत्रको समय खेर लान नदिन सहसचिव एवं प्रवक्ता दीपक शर्मा नेतृत्वको कार्यदल पनि गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू