अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

किरात राई सोसाइटी अफ अमेरिकाले रक्तदान गर्ने

बिआरटीनेपाल २०७७ साउन २७ गते ११:३६ मा प्रकाशित

न्यु योर्क । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले कोरोना भाइरसको महामारीका बिच यही अगस्ट १७ मा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण यहाँ स्थित अस्पतालहरुमा रगतको कमी हुन आएका कारण रक्तदान कार्यक्रम आयोजना गरिन लागेको केआरएसएले जनाएको छ । केआरएसएका केन्द्रीय अध्यक्ष राम राईले मानव जीवनमा अत्यन्त महत्त्वपूर्ण रगत कोरोना भाइरसको महामारीका कारण न्यु योर्कका अस्पतालहरुमा कमी हुन गएको उल्लेख गर्दै रक्तदान कार्यक्रममा सक्रिय रूपमा सहभागी भइदिन केआरएसएका सदस्य तथा सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेका छन् ।

‘यहाँ स्थित ब्लड सेन्टरले कोरोना भाइरसका कारण रगतको कमी हुन गएको जानकारी दिएको छ,’ उनले भने, ‘त्यही भएर हामीले मानव जीवनमा अत्यन्त महत्त्वपूर्ण रक्तदान कार्यक्रम आयोजना गर्न लागेका हौँ । हामी केआरएसएका सम्पूर्ण सदस्य तथा नेपाली समुदायलाई रक्तदान कार्यक्रममा सहभागी भइदिन अनुरोध गर्दछौँ ।’

रक्तदान कार्यक्रम ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरमा हुने छ । कार्यक्रम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने छ । केआरएसएले आफ्नो उपयुक्त समयमा रक्तदान कार्यक्रम गरिदिन अग्रिम समय बुकिङका लागि अनुरोध गरेको छ । एकै समयमा धेरै रक्तदातासँग रगत लिन नसकिने हुँदा केआरएसएले समय बुकिङका लागि अनुरोध गरेको हो ।

समय बुकिङका लागि केआरएसको डिजिटल पर्चामा भएको क्युआर कोड स्मार्ट फोनबाट स्क्यान गर्नुपर्ने छ । स्क्यान लगत्तै रक्तदानका लागि समय बुकिङ गर्ने वेब पेज खुल्छ । उक्त वेब पेजमा आफ्नो विवरण र रक्तदानका लागि आफू अनुकूल समय बुकिङ गर्न सकिन्छ ।

अध्यक्ष राईले यसअघि समय बुकिङको व्यवस्था नहुँदा नेपाली समुदायसँग सम्बन्धित संस्थाहरूले यसअघि गरेको रक्तदान कार्यक्रममा केही कठिनाइ उत्पन्न भएको भएको बताए । ‘यसअघि रक्तदानका लागि एकै समयमा धेरै मानिस भेला हुने र ब्लड सेन्टरबाट खटिएको जनशक्तिले सबै जनाबाट एकै समयमा ब्लड लिन नसक्ने समस्या देखियो,’ उनले भने, ‘समय अभावका कारण चाहना हुँदा हुँदै पनि रक्तदान नगरी फर्किनुपर्ने अवस्था अन्त्य गर्नका लागि हामीले क्युआर कोडमार्फत अपोइन्टमेन्टको व्यवस्था गरेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू