अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

विदेशी प्राविधिक नेपाल आउन नसक्दा गौतमबुद्ध विमानस्थलमा उपकरण जडान गर्ने काम ठप्प

बिआरटीनेपाल २०७७ साउन २७ गते ३:०५ मा प्रकाशित

अमेरिकी युरोपेली देशका प्राविधिक नेपाल आउन नपाउँदा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका उपकरण जडानमा ढिलाइ भएको छ । नेपालले विदेशी यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको र यी देशले पनि यात्रामा प्रतिबन्ध लगाएका कारण प्राविधिक नेपाल आउन पाएका छैनन् । त्यसैले विमानस्थलका उपकरण जडानमा ढिलाइ भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा जडान गर्नुपर्ने रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरणहरु, ब्यागेज ह्याण्डलिङ सिस्टम, एक्स–रे आदि यन्त्र उपकरणमध्ये धेरैजसो नेपाल आइसकेका छन् । अब ती उपकरण जडान गर्न बाँकी रहेको छ । कतिपय उपकरण युरोप र अमेरिकामा बनेकाले ती उपकरणको जडानका लागि सम्बद्ध कम्पनीका प्राविधिक नै आउनुपर्छ । तर कोरोना भाइरसको महामारीका कारण प्राविधिक नेपाल आउन नपाउँदा जडान हुन सकेको छैन ।

प्राधिकरणले कुटनीतिक माध्यमबाट सहजीकरणका लागि पर्यटन मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयमा अनुरोध गरेको जनाएको छ । परिस्थिति सामान्य बनेमा डिसेम्बरसम्म सम्पूर्ण कार्य सम्पन्न गरी विमानस्थल हस्तान्तरण हुने अपेक्षा गरिएको पनि प्राधिकरणले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । विमानस्थलको भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भएको र फिनिसिङको काम पनि सम्पन्न हुने चरणमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू