अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

दाँतको अत्यावश्यक उपचार मात्रै गर्नू – स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:४४ मा प्रकाशित

सरकारले यो समयमा अत्यावश्यक बाहेक दाँतको उपचार नगर्नरनगराउन आग्रह गरेको छ । दाँतको उपचार गर्दा डाक्टर र बिरामी नजिक हुनुपर्ने, बिरामीले मास्क प्रयोग गर्न नमिल्ने लगायतका कारण अत्यावश्यक बाहेक दाँतको उपचारका लागि दन्त क्लिनिक तथा अस्पताल नजान सरकारले आग्रह गरेको हो ।स्वास्थ्य सेवा विभाग मुख स्वास्थ्य तथा आँखा शाखाका प्रमुख डाक्टर प्रकाश बुढाथोकीले कोरोना महामारीका बेला दाँतको उपचारसम्बन्धी प्रोटोकलको बारेमा जानकारी गराउँदै कोरोना सङ्क्रमण फैलाउन दन्त क्लिनिकहरु सहयोगी हुनेतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको मापदण्डअनुसार दाँतका अत्यावश्यक सेवा अन्तर्गत निद्रा नलाग्ने गरी दाँत दुख्नु, दाँतबाट अत्यधिक रक्तश्राव हुनु, मुख खोल्न र निल्न नसक्ने अवस्था आउनु, गिजा तथा आसपासमा निस्किएको घाउ दुई हप्तासम्म निको नहुनु, दुर्घटनाबाट दाँत भाँचिनु लगायतलाई मानिएको छ ।यस्तै मापदण्डमा दाँतको उपचार गर्दा डाक्टर र बिरामी दुवैले अनिवार्य पीपीई लगाउने, १५ मिनेटमा उपचार सक्ने, उपचार कक्षमा एक जना र पालो पर्खने ठाउँमा एक जनाभन्दा धेरै बस्न नहुने, एक जनाको उपचारपछि उपचार कक्ष तथा उपकरण निर्मलीकरण गर्नुपर्नेलगायतका सेवा व्यवस्था गरिएको डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

कोरोना महामारी अझै लामो समय रहने सम्भावना रहेको र त्यस बेलासम्म उपचार नपाएमा धेरैले दाँत गुमाउनुपर्ने भएकोले उपचारको लागि मापदण्ड बनाइएको र यसको पालना गरेर मात्रै उपचार गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू