अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

राष्ट्रिय फुटबल खेलाडीहरुको कोरोना परीक्षण

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:२५ मा प्रकाशित

विश्वकप र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । सोमबार बन्द प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो । खेलाडीहरुसँगै पहिलो दिन एक फिजियो, एक प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफ गरी २५ जनाको परीक्षण गरिएको छ ।

ललितपुरको पाटन अस्पतालमा परीक्षण गरिएको हो । सरकारले ‘लकडाउन’लाई खुकुलो बनाएसँगै विश्वकप छनोटका लागि ‘एन्फा’ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ ।फिफा विश्वकप २०२२ छनोटअन्तर्गत् नेपालले तीन ‘होम’ खेल दशरथ रंगशालामा खेल्दैछ । तीन खेलमध्ये नेपालले असोज २२ गते चाइनिज ताइपेईसँग र त्यसको पाँच दिनपछि अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘बी’मा रहेको नेपालले छनोटको अन्तिम खेलमा कात्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका रहेको छ ।समूह ‘बी’मा नेपाल ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको समूहमा रहेको अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा रहँदा समान १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।

छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा नेपालले अस्ट्रेलियालाई ५–० र चौथो खेलमा जोर्डनलाई ३–० ले नतिजा सुम्पिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू