अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 07:52

असन्तुष्ट पक्षको विरोधकै बीच सभापति देउवाद्धारा कांग्रेसको विभागहरुमा मनोनयन

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:१३ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा आफूसँग असन्तुष्ट रहेका पक्षको विरोधलाई बेवास्ता गर्दै विभागहरुमा मनोनयन गर्नुभएको छ । देउवाले पार्टीका थप १० विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गर्नुभएको हो । सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

रामचन्द्र पौडेल पक्षको विरोधकै पार्टीको विधान संशोधन गरी विभागहरुको संख्या ४७ पुर्याईएको छ । ती विभागमा देउवाले एकलौटी मनोनयन गर्नुभएको हो । पौडेल पक्षले भने महाधिवेशनका मुखमा विभागलाई पूर्णता दिनु निर्वाचन आचारसंहिता विपरित हुने भन्दै आपत्ति जनाउँदै आएको छ । तर देउवाले भने आगामी महाधिवेशन केन्द्रित भई कार्यकर्ता समेट्न विभागलाई पूर्णता दिइरहनुभएको छ ।

मनोनयन अनुसार संगठन विभाग प्रमुखको जिम्मा गोपालमान श्रेष्ठलाई दिइएको छ । ४१ सदस्यीय संगठन विभागको सचिवमा झापाका विनकुमार विश्वकर्मा तोकिनुभएको छ । शिक्षा विभागको प्रमुख र उपप्रमुखको जिम्मेवारी हरिप्रसाद नेपाल र चितवनका शेषनाथ अधिकारीलाई दिइएको छ । ४० सदस्यीय शिक्षा विभागको सचिव कास्कीका डा. कृष्णप्रसाद पौडेललाई बनाइएको छ ।

४१ सदस्यीय यातायात व्यवसायी समन्वय विभागको जिम्मा महेन्द्र यादवलाई दिँदै देउवाले विभागको उपप्रमुख र सचिवको जिम्मेवारी भने कसैलाई पनि दिनुभएको छैन ।यसैगरी मुस्लिम विभागको प्रमुखमा फरमुल्लाह मन्सुर र सचिव बाराका परवेज अन्सारी तोकिएका छन् । मुस्लिम विभाग ३८ सदस्यीय छ ।

तराई–मधेश समन्वय विभाग प्रमुखको प्रमुखमा अजयकुमार चौरसिया, उपप्रमुखमा सप्तरीका श्रीपत राउत र सचिवमा पर्साका रामनारायण प्रसाद कुर्मी तोकिएको छ । यो विभागमा ३९ सदस्य छन् । रमेश रिजालले ४० सदस्यीय संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।

३९ सदस्यीय वन, वातावरण तथा विपत व्यवस्थापन विभागको प्रमुख अम्बिका बस्नेतलाई बनाइए पनि यस विभागमा कसैलाई पनि उपप्रमुख र सचिव तोकिएको छैन ।आनन्दप्रसाद ढुंगानालाई वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख र उपप्रमुखमा सुर्खेतका गोविन्दबहादुर मल्ल तोकिएका छन् । यो विभाग पनि ३९ सदस्यीय छ ।

उपप्रमुख र सचिव नतोकिएको ३८ सदस्यीय स्थानीय तह समन्वय विभाग प्रमुखको जिम्मा अर्जुनप्रसाद जोशीलाई दिइएको छ ।निर्माण व्यवसायी समन्वय विभागको प्रमुख बीरबहादुर बलायरलाई बनाइएको छ । जसमा ३९ सदस्य छन् । तर यस विभागमा पनि उपप्रमुख र सचिव तोकिएको छैन ।
यसअघि कांग्रेस सभापति देउवाले २०७७ जेठ १७ गते तरुण विभाग प्रमुखको जिम्मेवारी शंकर भण्डारीलाई र सचिवको जिम्मा नवलपुरका श्यामप्रसाद श्रेष्ठलाई दिनुभएको थियो । जेठ २८ गते भने देउवाले खेलकुद विभागको प्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख काठमाडौंका मोहनकुमार राई र सचिव ललितपुरका मीनकृष्ण महर्जनलाई तोक्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू