अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

भ्रष्टाचारको आरोप लागेपछि स्पेनका पूर्व राजाले छाडे देश, युएईमा अवतरण

बिआरटीनेपाल २०७७ साउन २५ गते ०:१३ मा प्रकाशित

स्पेनका पूर्व राजा ख्वान कार्लोस संयुक्त अरब इमिरेट्स (युएई) पुगेको दाबी गरिएको छ ।एउटा भ्रष्टाचारको मामलामा आफ्नो नाम मुछिएपछि देश छोड्ने निर्णय गरेको पूर्व राजा कार्लोस विशेष विमान मार्फत युएईमा अवतरण गरेको तस्वीर सार्वजनिक भएको छ ।

स्पेनिस सञ्चार समूह एनआइयुएसले सार्वजनिक गरेको तस्वीरमा पूर्व राजा कार्लोस अबुधाबीमा विमानबाट झर्दै गरेको देखिन्छ ।गत सोमबार स्पेनिस राजदरबारले कार्लोसले देश छाड्ने निर्णय गरेको जनाएको थियो । केही हप्ताअघि शुरु भएको भ्रष्टाचार अभियोगको अनुसन्धानमा कार्लोसको नाम पनि मुछिएपछि एकाएक उहाँले देश छाड्ने घोषणा गर्नुभएको जनाइएको थियो ।

आफूले कुनै गलत काम नगरेको दाबी गर्नुभएका कार्लोसले आफू अन्तर्वार्ताका लागि तयार रहेको बताउनुभएको छ ।८२ वर्षीय पूर्व राजा कार्लोसले वर्तमान राजा छोरा फेलिपेलाई पत्र लेखेर देश छोड्ने जानकारी दिनुभएको थियो । फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गर्नुभएको थियो ।

उहाँले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीले अन्तर्वार्ता गर्न चाहे आफू तयार रहेको पनि बताउनुभएको थियो ।गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्व राजा ख्वानको संलग्नताबारे अनुसन्धान थालेको थियो ।

स्पेनलाई अधिनायकवादबाट निकै कुशलतापूर्वक प्रजातन्त्रको मार्गमा ल्याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू