अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

कोरोना जोखिम नियन्त्रणका लागि सीमा नाका पूर्णरुपमा सिल गर्न कांग्रेस सभापति देउवाको सुझाव

बिआरटीनेपाल २०७७ साउन २० गते ५:५७ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि सीमा नाका पूर्णरुपमा सिल गर्न सुझाव दिनु भएको छ । उहाँले नेपाली नागरिकको उद्दार गर्नु पर्ने अवस्थामा बाहेक सीमामा आवातजावत पनि पूर्णरुपमा कडाई गर्नु पर्ने पनि बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बढ्दो जोखिम न्यूनीकरणका लागि मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बोलाउनु भएको बैठकमा आफ्नो धारणा राख्दै कांग्रेस सभापति देउवाले ७ बुँदे सुझावसहित केही माग पनि राख्नु भएको छ ।उहाँले हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्नु पर्ने बताउँदै स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप नभइ छानबिन र कारवाही गर्न माग गर्नु भयो ।

सभापति देउवाले आरडीटी परीक्षण स्थायी रुपले अन्त्य गरिनु पर्ने र सम्पूर्ण रुपले पीसीआर परीक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त मिलाउनु पर्ने बताउनु भयो ।उहाँले स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध गर्नुपर्ने, अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता देखाइनु पर्ने, आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्नु पर्ने सुझाव पनि दिनुभयो ।

यसैगरी मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन गर्दै विदेशमा अप्ठ््यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टाइन र परीक्षण पश्चात् घर पुर्याउने ब्यवस्था पनि गरिनु पर्ने सुझाव पनि उहाँको थियो । सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम सञ्चारका माध्यमको व्यापक प्रयोग गरिनु पर्ने र परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरुसंग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता देखाउनु पर्ने पनि सभापति देउवाको सुझाव थियो ।

यसैगरी, विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गर्न र बर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गर्नु पर्ने माग पनि देउवाले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू