अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

शिव परियारको ‘नाचेँ फिरिरि’, ३ दिनमै ७ लाख बढी भ्युज

बिआरटीनेपाल २०७७ साउन १७ गते ९:४९ मा प्रकाशित

काठमाडौँ, डा. चन्द्र गिरीको शब्द रचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत ‘नाचेँ फिरिरि’को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ । यही साउन १५ गते बिहीबार दिउँसो २ बजे रिलिज भएको यो भिडियोले समाचार लेखिरहँदाको समय अर्थात् ३ दिनमा ७ लाख भन्दा बढी भ्युज पाइसकेको छ ।

लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाइरहेका झापाली गीतकार डा. गिरी वरिष्ठ वातावरणविद् हुन् । गीतकार गिरीका लगभग १ दर्जन गीत रेकर्ड भइसकेका छन् । अरू गीतका भिडियो पनि क्रमैसँग रिलिज गरिने कुरा उनले जानकारी गराए ।

गम्भीर विष्टको परिकल्पना तथा निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको सिनेम्याटोग्राफीमा छयाँकन भएको यस भिडियोमा विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्सन गरेका छन् । भिडियोमा दर्शकले अत्यन्तै रुचाएका कलाकार ट्वीन्सर्् प्रिज्मा र प्रिन्सी खतिवडा तथा सागर लम्साल ‘बले’ले प्रमुख मोडलको रूपमा नृत्य तथा अभिनय गरेका छन् ।

नेपाल चलचित्र विकाश कम्पनी बालाजुमा भव्य सेट लगाएर केही दिन अघि मात्र भिडियोको छायाङ्कन गरिएको थियो । भिडियोको लागि कला निर्देशक विजय चौधरीले आकर्षक सेट लगाएका थिए । भिडियो Rupantara Music मा हेर्न सकिन्छ ।

‘क्या दामी भो…’ र ‘पिलायो साथी…’ले जस्ता पिउने पिलाउने गीतबाट विशेष र फरक प्रकारको चर्चा पाएका शिव परियारले अब ‘नाचेँ फिरिरि…’ले संसारभरका स्टेज तताउने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया