अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

ट्रम्प प्रशासनद्वारा आप्रवासन शुल्कमा भारी वृद्धि, शरणार्थीलाई पनि शुल्क

बिआरटीनेपाल २०७७ साउन १७ गते ९:३९ मा प्रकाशित

न्यु योर्क । ट्रम्प प्रशासनले आप्रवासन शुल्कमा भारी वृद्धि गरेको छ । शुल्क वृद्धि ८१ प्रतिशतसम्म छ ।

साथै, मानवीय आधारमा शरण माग गर्ने आप्रवासीले समेत आवेदनका लागि शुल्क तिर्नुपर्ने छ । यसलाई अमेरिकी सञ्चारमाध्यमहरुले अनपेक्षित कदम भन्दै आलोचना गरेको छ ।

युएस सिटिजनशीप एण्ड इमिग्रेसन सर्भिसेस् (युएससिआइएस) ले शुक्रवार नयाँ आवेदन शुल्क प्रकाशन गरेको छ । त्यसमा आप्रवासीका लागि आधारभूत दर्जनभन्दा बढी सेवा पनि समावेश छ । शुल्क वृद्धिले कम आय भएका आप्रवासीलाई आर्थिक बोझ थपिदिने छ ।

नयाँ शुल्क अनुसार अमेरिकी नागरिकता आवेदन गर्नेले ८१ प्रतिशत बढी शुल्क तिर्नु पर्छ । साथै, मानवीय आधारमा शरण माग्दा समेत ५० अमेरिकी डलर आवेदन शुल्क बुझाउनु पर्छ । नयाँ शुल्क प्रकाशनसँगै शरणार्थी आवेदन जस्तो मानवीय सुरक्षासँग सम्बन्धित मामिलामा शुल्क लिने अमेरिका विश्वमा चौथो राष्ट्र बनेको छ ।

नागरिकता आवेदन शुल्क ६ सय ४० अमेरिकी डलरबाट बढाएर १ हजार १ सय ६० डलर पुर्‍याइएको छ । इम्प्लोइमेन्ट अथोराइजेशन शुल्क ३४ प्रतिशत वृद्धि गरी ५ सय ५० अमेरिकी डलर पुर्‍याइएको छ । विवाहबाट अमेरिका आएका आप्रवासीको ग्रिन कार्डमा उल्लेखित सर्त हटाउने आवेदन शुल्क २८ प्रतिशत वृद्धि गरी ५ सय ९५ अमेरिकी डलरबाट ७ सय ६० अमेरिकी डलर पुर्‍याइएको छ ।

युएससिआइएसले सञ्चालन खर्च धान्न आवेदन शुल्क वृद्धि गरिएको जनाएको छ । युएससिआइएसले आफ्ना करिब २० हजार मध्य करिब १४ हजार जनशक्तिलाई छुट्टीमा राखेको छ । त्यसको कारण कोरोना भाइरसको प्रकोपका कारण आवेदन शुल्क घट्दा सञ्चालन खर्च उठ्न नसक्नु जनाइएको छ । शुल्क वृद्धिबाट युएससिआइएसले १ अरब अमेरिकी डलर खर्च धान्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू