अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

संखुवासभाका चार हिमताल जोखिममा

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:५१ मा प्रकाशित

संखुवासभाका चार हिमताल जोखिममा रहेका छन् । जिल्लाका एक सय चार हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको हो । मकालु बेसक्याम्प भन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको इसिमोडका डा अरुणबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संखवासभाका चार र तिब्बतका १७ वटा हिमताल फुट्ने जोखिममा छन् । तिब्बतमा रहेका १७ वटा हिमतालको पानी अरुण नदी हुँदै नेपालतर्फ आउने गरेको छ ।

कूल एक दशमलव ९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको लोवर बरुण हिमतालको लम्बाइ दुइ दशमलव सात किलोमिटर र चैडाइ ६ सय मिटर रहेको छ । नेपालमा पाँच हजार तीन सय ५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको उल्लेख गर्दै उहाँले हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको बताउनुभयो ।

जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै उहााले त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिनुभयो । तत्काल वरुण नदीको बहाव पुरानै बाटो फर्काए लोवर वरुण हिमताल फुट्नबाट जोगाउन सकिने भएका कारण सबैले यसमा पहल गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताउनुभयो । वरुण नदीभन्दा लोवर वरुण हिमताल तल भएकाले नदी तालमा जाने खतरा बढेको हो ।

अरुण तथा वरुण नदी किनारमा भएका बस्तीलाई यसबारे सचेत गराउनुपर्ने आवश्यकता देखिएको छ । यो हिमताल विस्फोट भएमा संखुवासभा, भोजपुर, धनकुटा र सुनसरी जिल्लाका खोला किनारमा बसोबास गर्ने बस्ती उच्च जोखिममा पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकारवालालाई इसिमोडले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू