अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 23:14

नेपालमा कोरोनाबाट एकै दिन ४ जनाको मृत्यु, मृतककोे संख्या ५६ पुग्यो, १९ हजार ७ सय ७१ जना संक्रमित

बिआरटीनेपाल २०७७ साउन १६ गते ६:२४ मा प्रकाशित

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज(शुक्रबार) एकैदिन थप ४ जनाको कोरोना मृत्यु पुष्टि भएको हो । यसअघि कोरोनाकै कारण ५२ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार आज ज्यान गुमाउने चारै जना पर्साका हुन् । प्रवक्ता गौतमका अनुसार पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष, वीरगन्ज १६ कै ३५ वर्षीय पुरुष, वीरगन्जकै ६५ वर्षीय पुरुष र वीरगन्ज स्थायी घर भएर ललितपुर थसिखेल बस्ने ६५ वर्षीया महिलाको निधन भएको हो।

यसैबीच, मुलुकमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ५१ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ३ सय ९९ पुगेको जानकारी दिनुभयो ।

शुक्रबारसम्म १२ हजार १ सय ११ जना क्वारेन्टिनमा रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय १६ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिएको छ। पछिल्लो समय केही स्थानमा विभिन्न सभा सम्मेलनहरु भइरहेको भन्दै त्यस्ता सभा सम्मेलनहरु नगरिदिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू