अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

पुस्तक

गोपी मैनाली २०७७ साउन १५ गते २१:२० मा प्रकाशित

पुस्तकको पाना पल्टाउनु संसार हेर्ने आँखी झ्याल खोल्नु हो, संसार यात्रा गर्ने ढोका उघार्नु हो, ज्ञानको सागरमा पौडिन तयार हुनु हो । न जाने पुस्तकका ससाना अक्षरले कसरी ब्रह्माण्डलाई आफूभित्र समेटेको छ ?

पुस्तकको महत्त्व नबुझ्नेहरु पुस्तक पढ्नेलाई किताबी किरो, अक्षर घोकन्ते इत्यादि नाम उपमा दिएर गिल्ला गर्न पछि पर्दैनन् । उनीहरूलाई के थाहा पुस्तक ज्ञान, बुद्धि, मनोरञ्जन, यात्रा, संस्मरण, प्रणाली, इतिहास, सङ्घर्ष, प्रेम, क्रोध, आक्रोश, सिर्जना, संहार, दर्शन, सिद्धान्त सबैको जीवन्त रूप हो । मानव भावना र संवेदनाको सोलोडोलो मिनिएचर हो । पुस्तकले नै संसार र सभ्यतालाई यहाँसम्म ल्याइ पुर्याएको छ । न जाने कति योजन परसम्मको जीवन र जगतलाई यसले मार्गदर्शन गरिरहने छ ।

पुस्तकले के गरेन ? पुस्तकका पाना पल्टाएर एउटा सामान्य दैनिकीबाट मुलुकको कायापलट गर्ने ओटोहान विस्मार्क, अब्राह्म लिङ्कन, हाम्रै पृथ्वीनारायण शाहजस्ता व्यक्तित्वहरूले राष्ट्र निर्माणको यात्रा सुरु गरे । उनीहरूको साहस, सहकार्य र नेतृत्वबाट मुलुकले कसरी काँचुली फेrयो ? अक्षरमा लेखिएका उनीहरूका दैनिकी र उत्कर्षका यात्राले मुलुक कसरी बनाउन सकिन्छ भन्ने शिक्षा आजलाई त दियो दियो, युगौयुगसम्म यसरी नै इतिहास बनाइरहेन छ । राष्ट्र निर्माणको यात्रामा एडोल्फ हिट्लरले क्रूरता देखाए, नेपोलियन वोनापार्ट अति नै आकाङ्क्षी भए । ठुलो महत्त्वाकाङ्क्षा र क्रूरताको कथाले सिर्जना बिथोलियो, निर्माण बिथोलियो, पात्रहरूको दुखद अवसान पनि भयो । तर कथा सकिएको छैन । सिर्जनाका लागि थालिएका साहसका यात्रा सम्मतिसाथ हुनुपर्छ, आकाङ्क्षामा स्वीकार्यताको सीमा नाघ्नु हुँदैन, पुस्तकका अक्षरले नयाँ कथाको सुरुवात गरेका छन् । पुस्तक छ र न कथाहरू बाचेका छन् । पुस्तक छ र न त जीवन शिक्षा र सन्देशबाट गतिशील छ ।

पुस्तकले विचार र दर्शनलाई संस्थागत गर्दै, परिमार्जन गर्दै र समृद्ध बनाउँदै लाने गर्दछ । पुस्तक नहुँदो हो त मर्यादा पुरुषोत्तम रामचन्द्रका आदर्श कथाहरू उतिवेला नै धर्तीको धुलोमा विलीन हुने थिए, कृष्ण कन्हैयाका कूटनीतिहरू हवामा मिल्ने थिए । प्लेटो र आरस्तुका राज्य सिद्धान्त शक्तिका मान्यताहरू राज्यले वरण गर्न पाउँदैनथ्यो । रुसोका सिद्धान्तले राज्य इच्छा पाउँदैनथ्यो, जोहन दुवेको भावनाहरूले जीवन शिक्षा दिँदैनथे । परिणामतः नागरिक निजत्व, मर्यादा र खुसीबाट पूर्णतः विमुख हुने थियो । माक्र्स र एङ्गेल्सका राज्यविहीन सामाजिक समानता वा ब्रुनो काइस्की र बिपीका समाजवादी सिद्धान्तहरू राज्यले बुझ्दैनथ्यो । त्यसो त पुस्तकले दर्शन र सिद्धान्तलाई संस्मरण र संरक्षण मात्र गरेको छैन, अरू धेरै दार्शनिक जन्माउँदै पहिला कुदिएका सिद्धान्तलाई गतिशील बनाउँदै, नवीकरण अनि परिमार्जन गर्दै लगेको छ । दर्शनमा पुस्तान्तरको प्रभाव पर्छ भन्ने नमुना हुन प्रदीप गिरी र बाबुराम भट्टराई । माक्र्स एङ्गेल्सलाई उनीहरूले आधुनिक अर्थमा बुझे बझाए पनि । यसर्थ पुस्तक आफैमा जीवन्त पाठशाला हो, विचार अनि सिद्धान्त मन्थन–उत्पादन गर्ने कार्यशाला हो ।

निजी सुख र समृद्धिको स्वार्थमा रमाउने मानव जातीलाई किताबका हरफहरूले नैतिक र आत्मिक अनुशासनको मार्ग देखाउँदै आएको छ । सत्कर्म, सद्वोली, सद्व्यवहार र सत्प्रयास गर्न सिद्धार्थ गौतमको अथक प्रयासले बुद्धत्व प्राप्त गर्यो । मानव सेवा र अहिंसा नै धर्म हो, सेवा र समर्पण मार्फत धर्म गर भन्ने मोहनदास महात्मा बने । बुद्धत्व र महात्मा त्यसै प्राप्त भएको होइन, यो कसैले दिएको उपहार होइन, प्रायोजित पुरस्कार पनि होइन । यो त उनीहरुहको कर्मको लिपिबद्ध इतिहास पुस्तकले राखेकाले पछिका पुस्ताले उनीहरूमाथि गरेको सम्मान र न्याय हो । यो सम्मान र न्याय मानव पुस्ताका लागि नै उपहार हो । अव गौतम बुद्धका वाणीहरू उनका मात्र रहेनन्, न माहात्मा गान्धीका विचार परिवार र भूगोलमा सीमित छ । ती विचार र वाणीहरूको विस्तृतीकरण र मानवीकरण गर्न धेरै पुस्तक र अक्षरहरू काम गरे । त्यसैले महानहरु पुस्तकमा बाँच्दै आएका छन् । पुस्तक महानता, अझ भनौँ, मानवताको विशालकाय घर हो ।

सबै व्यक्तिहरू विचार पढ्दैनन्, मनोरञ्जन पढ्न रुचाउँछन् । मस्तिष्कका खुराक र वैयक्तिक प्राज्ञ विस्तार गर्न लागू हुँदैनन् तर स्वाद र सन्तुष्टिमा रमिन चाहन्छन् । पुस्तकका अक्षरहरू मनलाई रञ्जन दिने नादहरू हुन् । गीतका झङ्कार हुन्, नाट्यशाला र चलचित्र घर हुन् । एउटा बालक मनमनै जे के रोलिङमा रमिन्छ, गाव्रिएल गार्सिया कार्मेज र पाउलो केलिका पात्रहरूसँग दौडिन्छ । सुपरम्यान र स्याङकोपान्जामा चुलबुलिन्छ । गोर्कीको पावेल बनेर दार्हा किट्छ र विद्रोही बन्छ वा सेमेएल वेकेटसंग निरुक्त बन्छ । भन नोइमन र रामानुजनमा पिक्टोग्राफिक अनि पढाइसाथ सोच्ने र भिजुएलाइज्ड गर्ने प्रवृत्तिमा रहन्छ । मनोरञ्जनका आआफ्नै स्वाद र तरिका छन् । पुस्तक स्वादहरू पस्किने मञ्च वा सूत्र हो । कोही दुखान्त कथाका पात्रसँगै आफ्ना मनलाई विरेचन गर्छन्, कोही उत्साह र श्रव्य अनुभूतमा । आक्रोशमा हौसिन्छन्, मनोवादमा रमिन्छन्, स्वेरकल्पनामा फैलिन्छन् । अन्तरिक्ष र विश्व ब्रह्माण्ड कै यात्रा गर्छन् । सगरमाथा चढ्छन्, आकाशमा फैलिन्छन्, महासागरमा डुबुल्की मार्छन् अनि छहरामा छचल्किन्छन् । पुस्तक छ र न यी सवै थोक छ ।

किताबहरू सुनका झैँ सुन्दर र फलामका झैँ कडा अक्षर टिप्दैनन् । पुस्तकका अक्षरहरू कमलका फूल सरी कोमल हुन्छन् । अक्षरहरू कसैलाई गाली गर्दैनन् । गाली गर्न अक्षरको धर्म होइन । अक्षरका पुञ्ज पुस्तक, मायाका पनि पुञ्ज हुन् । माया गर्न अक्षर र अक्षर संग्राह गर्न पुस्तक जन्मिएको हो । कोमल सुमसुम्याईमा अक्षरहरू विग्रन लागेको जीवनको सम्पादन मृदुभावमा गर्दछन् । जीवनको आफ्नै संविधान निर्माण गर्न र आफैलाई सम्पादन गर्न अक्षरहरू अदम्य शक्ति हुन् ।

पुस्तक विश्वलाई चियाउने सुन्दर विम्व हो, जुन बिम्बमा व्यक्तिहरू आफ्ना चाहनाका चित्रहरू खोज्न सक्छन्३, आकाङ्क्षा पुरा गर्न सत्रहरू पत्ता लगाउन सक्छन् । सिर्जनाका फराकिला बाटोहरू भेट्न सक्छन् । पुस्तककै माध्यमबाट संसारको परिक्रमा, अन्तरिक्षको यात्रा र ज्ञानको सागरमा डुबुल्की मार्न सक्दछन् । पुस्तकले शिक्षा र सीपका सत्र र सिद्धान्त दिएको छ, सफलताको बाटो देखाएको छ । पगति र समृद्धिको आधार दिएको छ । विचारक हरारीले पुस्तक मार्फत नै मानिसलाई ईश्वरीय शक्तिको पर्याय देखे, ईश्वरीय शक्तिको दुरुपयोग मानिस आफैको हित विरुद्ध गर्ला कि भनी सचेत गराई राखेका छन् ।

पुस्तक गुरु हो । शिक्षा र सन्देश गुरुको काम हो । गुरुहरू आफू अव्वल हुन चाहन्छन् र शिष्यहरू आफूभन्दा अझै अव्वल भएको देख्न चाहन्छन् । गुरुहरू शिष्यसँग ईष्र्याभाव पटक्कै राख्दैनन्, गुरुहरू दम्भी हुँदैनन् । शिष्य दम्भी, अविवेकी र व्यविचार हुनसक्छ । पुस्तक गुरु भएकाले आफूमा भएको ज्ञान शिष्यलाई दिएर उसलाई सत्कर्म र विवेकको बाटो देखाउँछ । पुस्तक अदम्य शक्ति हो चेतना, ज्ञान र विवेक विस्तार गर्ने । मनुस्मृति, चाणक्य नीति, वेदका ऋचा, कुरानका सूक्त, बाइबलका स्टान्जा सबै शिष्यलाई सत्मार्ग देखाउने सूत्र हुन् । नीति उपदेशका साँचो हुन् । क दुब्लाउँदा भावुक बन्ने कालिदास किताबबाटै कवि र महाकवि बने । अक्षरमा रमाएर नै बाल्यकालका बुद्धु आइन्स्टाइन सापेक्ष वादको सिद्धान्तमार्फत विश्वलाई थर्काउन पुगे । पुस्तक पढ्नबाट वञ्चित, विद्यालयबाट निकालिएका स्टिभ जव्स अक्षरकै साइनोमा अरुधेरैलाई पुस्तकविनै पुस्तक पढ्न सक्ने आविष्कारका जननी बने । पुस्तक पढ्नबाट वञ्चित नागरिकहरू पुस्तक पढ्नका लागि नै राज्यसँग सङ्घर्ष गरे । पुस्तककै सन्देशमा ठूल्ठुला महासमरहरू बम विस्फोटन हुनबाट रोकिए । विसर्जन र विध्वंस विनिर्माण र पुन निर्माणका आधार बने । दम्भीको अहङ्कारलाई भस्म गर्ने, क्रूरता र पाखण्डलाई विद्यामार्फत विनयमा बदल्ने शक्तिको स्रोत पुस्तक हो । त्यसैले नेपालीहरू पुस्तकलाई औधी सम्मान गर्छन्, पुस्तकलाई पूजा गर्छन् र पुस्तक पढेर आफै पुजिन्छन् पनि । भनिन्छ राज मुलुकभित्रमात्र पुजिन्छ, विद्वान सवैतिर पुजिन्छ । विद्वता यश फैलाउने शक्ति हो ।

पुस्तक पढ्नाले चेतनाको क्षितिज फराकिन्छ । चेतना र प्राज्ञ फराकिनु भनेको मानिस महान् बन्नु हो । महान् मानिस विचार, बुद्धि र विवेकमा फराकिलो हुन्छ । उसले ब्रह्माण्डकै ज्ञान लिएको हुन्छ । ब्रह्माण्डको ज्ञान लिनु भनेको समस्त जीवजगतको सुख, संवेदना र सम्भावना बुझ्नु हो । पदार्थ र चेतना बुझ्नु हो । स्वार्थ र सङ्कीर्णताबाट उदात्त भई उठ्नु हो । पुस्तकका निर्जीव अक्षरहरू सभ्यता र विकासलाई जीवन दिने अचुक औषधि हुन् । त्यसैले पुस्तक ब्रह्म हो, पुस्तक प्रज्ञा हो ।

पुस्तकमा लेखिन नपाएर कति महान् विचारहरू त्यत्तिकै हराए होलान् । कति महान् कविका कविता, जीवन उत्सर्गका कथाहरू प्रकृतिमा त्यत्तिकै विलय भए होलान् । श्रुति र संस्मणहरु रुमलिँदै विस्मृतिमा परे होलान् । पुस्तक नै पढेर ती विस्मृति र हराएका थुप्रै कुराहरू पुनर्खोज गर्न सकिन्छ । विज्ञान त्यसको आविष्कार गरोस्, पुस्तक त्यसको रक्षा गरोस् ।

क्रूर शासकहरू पुस्तकबाट भयभीत हुन्छन्, शक्ति अहङ्कारीहरू पुस्तकबाट त्रसित हुन्छन् । पुस्तकलाई सत्तोसराप गर्छन् । अक्षरको शक्ति निस्तेज पार्न पुस्तक र पुस्तकालय बन्द गर्छन् । राणा शासकहरू पुस्तकबाट डराएर नै लाइब्रेरी पर्व रचियो, र “मकैको खेती” खोजी खोजी जलाइयो, बिपीका पुस्तकहरू जफत गरियो । पुस्तकका पानाहरू बन्दुकले ध्वस्त पारियो । युरोपका क्रूर शासकहरूले यसै गरे, अन्यत्रका निरंकुशहरुले पनि यसै गरे । जनताको शक्ति, संवेदना र आक्रोशको आवाज पुस्तकले पजुल्याउने भएकाले क्रूर शासकहरू पुस्तकसँग डराउँछन् । अति भएपछि पुस्तकको आवाज नै पड्किएर शासकका क्रूरताहरू परास्त भए र पुस्तकले पराजितलाई पनि माया ग¥यो । पुस्तक सिर्जना र सभ्यता हो, जो सवैका भावनाहरू समवेत उठाउने गर्दछ । उसका लागि सबै आप्mना, कोही पराया छैन । त्यसैले वाल्मीकिले बम बनाएन, पुस्तक लेखे, व्यासले वेद लेखे, देवकोटा, किट्स, शेली सबैले पुस्तक लेखे । जनताका मनमा बस्ने शासकहरूले विज्ञ नै मुकरर गरेर पुस्तक लेखाए ।

अक्षरहरू खराब कराहरु लेखिन मान्दैनन् । जे लेखिए ज्ञान र नीतिका कुरा लेखिए । लेखिएकाहरू पुस्तक बनेर देखिए । शासन प्रणाली जे छ, पुस्तकमा अङ्कित छ । पुस्तकका अक्षरहरू जसले जीवनमय भएनन्, अद्र्धज्ञानमा अपव्याख्या भए, फेरि पुस्तकले नै शिक्षा र सचेतना दिएर जीवन पाए । राजनीति र नीतिशिल्पीहरुले बुझे—अल्पज्ञानले अहङ्कार र विद्याले विवक नै विस्तार गर्ने हो ।

हो, पुस्तकको आकार र मकाम फेरिदैछ, तर ज्ञानको आयतन फैलिँदै छ । पुस्तकका ससाना अक्षरहरू ठुला ज्ञान र शक्तिका पुञ्ज बनेका छन् । अव ठूल्ठूला पुस्तकहरू हत्केलामा जम्मा गरेर, क्लाउडमा स्टोर गरेर टचप्याड र स्मार्टफोनमा डाउनलोड गरेर पढ्न सकिने भयो । हाम्रा सिर्जनाहरू ठूल्ठूला ठेलीमा कम्पोज गरेर छाप्न पर्दैन, अपलोड गरेर स्टोर गर्न सकिने भयो । यसले ज्ञान आर्जनका अवरोधहरू भत्काएर अवसर जति विस्तार गरेको छ । आफ्ना स्वाद र सन्तुष्टिका पस्तकहरु छान्ने अवसर निमेषमै प्राप्त छ । आफ्नै स्वाद र चाखमा पाठकहरू रमिन पाएका छन् । दृश्यमा मात्र होइन, आवाजमा पनि पढ्न सकिने अवसर छ । धन्य शताब्दीका पुस्ता तिमीहरू ज्ञान र विवेकका पारखी बन । यसो गर्न तिमीलाई सित्तैमा अवसर आएको छ । तिमी औधी भाग्यमानी छौ । तर सावधानी लेउ ज्ञान अपभ्रंश होला, तिम्रो सिर्जना पाइरेसी होला, ह्याकिङ, फिसिङ र स्पुफिङमा पर्लाऊ । तर नभुल, अवसर र फाइदाका सापेक्षमा जोखिम र विकृतिहरू सार्है न्यून छन् । यसलाई सिर्जनामा उपयोग गर ।

न जाने कति ज्ञान र नीतिसिद्धान्तहरु लिपिबद्ध हुन नपाइ पिता पुर्खा ज्ञानका तिर्खामा रहे, ज्ञानको तिर्खा मेट्न पाइएन । त्यसको क्षति पूरा हुने गरी पुस्तक लेख्नु छ, पढ्नु छ, जसका लागि प्रविधि छ । त्यसैले नभुलौँ लेख्नेहरू लेखिरहौँ, पढ्नेहरू पढ्न नथाकौँ । पुस्तक छ र समाज छ, पुस्तक छ र न त सभ्यता छ । पुस्तकलाई सम्मान गरौँ, यो जीवन हो, जीवनको ज्योति हो ।