अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 09:50

आधारहीन र मनगढन्ते तर्क गरेर नेताहरूलाई पार्टीबाट निस्कासन गर्नु दुर्भाग्य – कांग्रेस नेता कोइराला

बिआरटीनेपाल २०७७ साउन ११ गते १:२० मा प्रकाशित

अनुशासन समितिले गरेको कारबाहीप्रति कांग्रेसका नेता शेखर कोइरालाले असन्तुष्टि व्यक्त गर्नुभएको छ । हिजो शनिबार नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व सहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेतालाई पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि नेता कोइरालाले अनुशासन समितिले आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर तीन नेतालाई कारबाही गरिएको भन्दै ट्वीटरमार्फत असन्तुष्टि व्यक्त गर्नुभएको छ । कोइराला ट्वीटरमा लेख्नु हुन्छ, ‘कांग्रेस पार्टीबाट निष्काशन गरिनु दुर्भाग्य हो । उहाँहरुले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनु भएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ ।’

शनिबार पार्टीको अनुशासन समितिले गत चुनावमा पार्टीको हित विपरित कार्य गरेको भन्दै पूर्व सहमहामन्त्री जोशी, कैलालीका काँग्रेस नेता एवम् पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा र डडल्धुरा पार्टी कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको थियो ।

क्रियाशील नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने कार्यले कार्यकर्तामा गलत सन्देश जाने कोइरालाको तर्क छ । एकातिर अन्य पार्टीबाट आएकालाई प्रवेश गराउने अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका वरिष्ठ नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने कार्य जायज नहुने नेता कोइरालाको तर्क छ ।

तीन नेतालाई निस्कासन गर्ने निर्णयप्रति असन्तुष्ट नेता कोइरालाले लेख्नुभएको छ( ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ? आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू