अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४१ | Colorodo: 00:56

नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ८ प्रतिशत – विश्व बैंक

बिआरटीनेपाल २०७७ साउन ८ गते ६:१४ मा प्रकाशित

विश्व बैंकले गएको आर्थिक वर्ष २०७६÷७७ मा नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ८ प्रतिशतमा सीमित रहने जनाएको छ । विश्वबैंकले यसअघि नेपालको आर्थिक वृद्धिदर १ दशमलव ५ देखि दुई दशमलत ८ प्रतिशतको बीचमा रहने दाबी गरेको थियो । तर आज ‘नेपाल डेभलपमेन्ट अपडेट २०२०’ सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक वृद्धिदर १ दशमलव ८ प्रतिशत मात्रै हुने उल्लेख गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पारेकाले आर्थिक वृद्धिदरमा ठूलो गिरावट आएको विश्वबैंकले जनाएको छ । केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७६÷७७ मा २ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ ।

नेपालले २०७२ सालको भूकम्प पछिका आर्थिक वर्षमा औसतमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आएको थियो, तर कोरोनाका कारण गएको आर्थिक वर्ष भने नेपालको आर्थिक वृद्धिदर दुई दशमलव ३ प्रतिशतमा झर्ने सरकारले जनाएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोरोना भाइरस, सलहको प्रकोप, प्राकृतिक प्रकोप लगायतका समस्याका कारण नेपालको आर्थिक वृद्धिदर खुम्चिएको बताउनुभयो । तर चालू वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हुने उहाँको दाबी छ । कोरोनाको प्रभाव कायमै रहे पनि चालू आर्थिक वर्ष अर्थात २०७७÷७८ मा पनि ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू