अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

नेपाल वायुसेवा निगमका एक सय ४५ जना कर्मचारी जागिरबाट निस्कासन

बिआरटीनेपाल २०७७ साउन ७ गते ६:१२ मा प्रकाशित

कोरोना भाइरस (कोभिड १९) का कारण आर्थिक संकट बेहोनु परेको भन्दै सरकारी निकायले नै १२ बर्षदेखि करार सेवामा रहेका कर्मचारीलाई जागरिबाट निकालेको छ । नेपाल वायुसेवा निगमले एक सय ४५ जना कर्मचारीलाई जागिरबाट निकालेको हो । कोभिड–१९ को प्रभावले निगमको आम्दानी नभएको भन्दै साउनदेखि करार सेवा थपेको छैन ।

करारमा रहेका चार सय ७८ कर्मचारीमध्ये एक सय ४५ जनाको करार नवीकरण नगरिएको निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता अर्चना खड्काले बोर्डको निर्णय अनुसार प्रशासन तर्फका एक सय ४५ जना कर्मचारीको साउन एक गतेबाट नवीकरण नगरिएको जानकारी दिनुभयो । क्याविन क्रु, पाइलट नै करारमा रहेकाको भने नवीकरण गरिएको छ ।

असार मसान्तमा करार अवधि समाप्त भएका दुइ सय २५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको नवीकरण गरी बाँकी एक सय ४५ जना कर्मचारीको सेवा नवीकरण नगर्ने निर्णय गरेको छ । नपाल वायुसेवा निगमका करार कर्मचारीले भने नियुक्तको माग गर्दै आन्दोलन सुरु गरेका छन् । कार्यालय अगाडि धर्ना दिइरहेका उनीहरुले चरणबद्ध आन्दोलन गर्ने भएका छन् । ती कर्मचारीले आबश्यक पर्दा काम लिने तर अप्ठायारेमा जागरिबाट निकालेको भन्दै करार नवीकरणसहित रोजीरोटीको सुनिश्चितताको माग गरेका छन् । उनीहरुले निगमभित्रको आन्तरिक भ्रष्टाचार अन्त्य गर्नुपर्ने पनि उनीहरुको माग छ ।

धर्नामा रहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । निगममा कार्यरत करार कर्मचारीहरुले रोजगारी सुनिश्चित गर्नुपर्ने माग राखेर गत असार २८ गते देखि विरोध जनाउदै आएका छन् । करार कर्मचारी संघर्ष समितिले करार नविकरण र रोजगारीको सुनिश्चितता, आन्तरिक भ्रष्टाचार अन्त्यको माग गर्दे आन्दोलन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू