अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 17:30

भक्तपुरले यसरी सम्झियो दिवङ्गत गायक अरुण थापालाई

बिआरटीनेपाल २०७७ साउन ६ गते ९:०७ मा प्रकाशित

भक्तपुर– शुभारम्भ द म्युजिकल जर्नीको प्रस्तुति एवं भक्तपुर साङ्गीतिक समाजको आयोजनामा स्वर्गीय गायक अरुण थापाको २१ औँ स्मृति दिवस साउन ५ गते सोमबार भक्तपुरमा सम्पन्न भएको छ ।

विषम परिस्थिति भएकोले यस पटक यो कार्यक्रम सामाजिक दुरी कायम गरी सोसल मिडियाबाट प्रत्यक्ष प्रसारण गरी आयोजना गरिएको हो ।

कार्यक्रममा अरुण थापाका ९ वटा लोकप्रिय गीत म्युजिकल ट्र्याकमा गाएर प्रस्तुत गरिएको थियो ।

भक्तपुरका स्थानीय कलाकारहरू गौतम श्रेष्ठ, विनय कोजु, अन्जना श्रेष्ठ, नबिन्द्र लाल कर्माचार्य, गङ्गाराम रंजीतकार, प्रवीण शाही, सहकुल अच्छामी, रामहरि ताम्राकार, अधिश्री कसपाल, सर्वश्री कसपाल र रोशन धौभडेलले स्वर्गीय गायक अरुण थापाका गीतहरू प्रस्तुत गरेका थिए ।

त्यस क्रममा कलाकारहरूले करोडौँ मुटुहरूको एउटै, चोट के हो, जति माया लाए पनि, म रोए पनि, दोष कसैलाई दिन चाहन्न, आँखाको नीद, ऋतुहरूमा तिमि, लाग्न थाल्यो जीवनमा, साँझको जुन सँगै प्रस्तुत गरिएको थियो ।

कार्यक्रम गीतकार सुवास चन्द्र ढुङ्गेलको समेत उपस्थिति थियो भने समाजका सल्लाहकार तथा प्राज्ञ ध्रुव मधिकर्मी पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा प्रस्तुति दिने कलाकारहरू बाहेक अरूलाई निम्ता गरिएको थिएन ।

त्यसका लागि आयोजक संस्थाले संगीतप्रेमीसंग क्षमा याचना गरेको छ ।

क्यान्सर रोगका कारण ४७ वर्षको उमेरमा आज भन्दा २१ वर्षअघि साउन ५ गते यो संसारबाट बिदा भएका गायक अरुण थापा बिछोड र वेदनाका गीतका पर्यायको रूपमा सधैँ अमर रहने छन् ।

समारोहलाई सम्बोधन गर्दै समाजका सल्लाहकार तथा गीतकार सुवास चन्द्र ढुङ्गेलले भन्नु भयो- ‘मान्छेहरूको मूल्याङ्कन गर्दा नराम्रा पक्ष मात्र होइन राम्रा पक्ष पनि हेरिनु पर्छ । स्वर्गीय गायक अरुण थापाका धेरै राम्रा पक्ष र थोरै नराम्रा पक्ष रहेको र नेपालको साङ्गीतिक इतिहासमा थोरै गीत गाएर पनि अत्यधिक चर्चित हुनु भएका निकै कम गायकमा अरुण थापा परेका थिए ।’

शुभारम्भ द म्युजिकल जर्नीले भक्तपुर साङ्गीतिक समाजसँग सहकार्य गरेर गायक अरुण थापालाई स्मरण गरेर कार्यक्रम आयोजना गर्न थालेको यो तेस्रो अवसर हो ।

समाजका सल्लाहकार तथा प्राज्ञ ध्रुव मधिकर्मीले आफ्नो धारणा व्यक्त गर्दै भन्नु भयो – ‘कला र कलाकारितामा भक्तपुरपछि छैन, मात्र एउटा मौका र अवसर पर्याप्त हुन सक्छ कलाकारका लागि । ’

कार्यक्रमका संयोजक संगीतकर्मी अल्बर्ट बज्राचार्य भन्नु हुन्छ-‘लकडाउनको समयमा समेत हामीले सामाजिक दुरी कायम गर्दै यो कार्यक्रम आयोजना गर्न सफल भएका छौँ । हामीलाई प्रत्यक्ष प्रसारणबाट साथ दिनु हुने सम्पूर्ण दर्शकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । विषम परिस्थितिकै कारणले हामीले यो वर्ष श्रष्टा सम्मान गर्न सकेनौँ, आगामी वर्षदेखि यो कार्यक्रममा श्रष्टा सम्मानलाई निरन्तरता दिने छौँ ।’

उक्त कार्यक्रमलाई सफल पार्नका लागि मुख्य प्रायोजक गुड्विल कन्सल्ट, टिभी पार्टनर भादगाउँ टेलिभिजन, अनलाइन पार्टनर कलाकर्मी डटकम, फोटोग्राफी पार्टनर पिक्सेल प्रोडकसन नेपाल, भेन्यू पार्टनर टिशा ईन लन्ज एण्ड बार रहेका थिए ।

प्रतिक्रिया