अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

कोरोना भाइरसविरुद्ध अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप सुरक्षित र प्रभावकारी रहेको बैज्ञानिकहरुको दावी

बिआरटीनेपाल २०७७ साउन ६ गते १:०० मा प्रकाशित

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले बनाएको कोरोना भाइरसविरुद्धको सम्भावित खोप सुरक्षित र प्रभावकारी देखिएको छ । १ हजार ७७ जनामा गरिएको परीक्षणमा सो खोप सुरक्षितसँगै कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको वैज्ञानिकले बताएका छन् ।

खोप दिइएका व्यक्तिको प्रतिरोधात्मक क्षमता बढेको देखिएको हो । खोप दिएपछि व्यक्तिको शरीरमा कोरोना भाइरससँग लड्ने एन्टीबडी तथा टी–सेल्सको विकास भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मानवीय परीक्षणको नतिजा अति सकारात्मक भए पनि अझै बिस्तारित अनुसन्धानको खाँचो रहेको अक्सफोर्डका वैज्ञानिकको भनाई छ । खोपको सुरक्षा तथा प्रभावकारी पूर्ण रुपमा यकिन गर्नका लागि बिस्तारित तहको परीक्षण जारी रहेको छ ।

अक्सफोर्डका वैज्ञानिकले अति तीव्र गतिमा काम गरेर सिएचएडीओएक्स १ एनकोभी–१९ नाम गरेको खोप विकास गरेका हुन् । चिम्पाजीमा रुघा लाग्ने भाइरसको आनुवंशिक इन्जिनियरिङ्गबाट खोप बनाइएको हो । खोपमा प्रयोग गर्नका लागि सो भाइरसलाई निकै परिमार्जन गरिएकाले यसबाट संक्रमण नहुने वैज्ञानिकले बताएका छन्।

परिमार्जन गरिएको भाइरस कोरोना भाइरस जस्तै देखिन्छ । यसको अर्थत खोपले कोरोना भाइरसलाई दर्शाएर मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोना भाइरसविरुद्ध लड्न सिकाउँछ । कुनै पनि भाइरसविरुद्ध खोप प्रभावकारी हुनका लागि एन्टीबडी र टी–सेल्सको प्रतिक्रिया हुनु पर्छ । अक्सफोर्डको खोपमा दुवैले राम्रो प्रतिक्रिया गरेका देखिएको हो ।

खोप दिएको १४ दिनपछि टी–सेल्स उच्च तहमा पुग्ने र २८ दिनपछि एन्टीबडी उच्च तहमा पुग्ने देखिएको द लानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । अक्सफोर्डको खोप अनुसन्धान समूहका वैज्ञानिक प्राध्यापक एन्ड्रयू पोलार्डले भनेका छन्, ‘हामी परीक्षणको नतिजाबाट अति उत्साहित भएका छौँ । एन्टीबडी र टी–सेल्स प्रभावकारी भएको देख्दा खुशी छौँ ।’

अहिलेसम्मको परीक्षणमा खोप सुरक्षित देखिए पनि ७० प्रतिशत व्यक्तिमा ज्वरो वा टाउको दुख्ने समस्या (साइड इफेक्ट्स) देखिएको छ । विश्वभर अहिले कोरोना भाइरसविरुद्धका २३ वटा सम्भावित खोपहरु मानवीय परीक्षणको चरणमा छन् । यस्तै अरु १४० वटा खोपहरु निर्माणको प्रारम्भिक चरणमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू