अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 11:13

चीनको केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोसी र सुनकोसी आसपास सुरक्षित रहन आग्रह

बिआरटीनेपाल २०७७ साउन ६ गते ०:१५ मा प्रकाशित

लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने भन्दै प्रशासनले सुनकोसी र भोटेकोसी आसपासका वासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।लगातार पानी परिरहेको र सो तालको क्षमता भन्दा बढी पानी जम्मा भएकाले ताल फुट्न सक्ने भन्दै चिनियाँ अधिकारीहरुले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएपछि प्रशासनले स्थानीयलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको हो ।

सोमबार अबेर स्थानीय प्रशासनले विज्ञप्ति निकाल्दै सुरक्षित रहन र खोला आसपासको बस्ती खाली गर्न बलेफिदेखि माथि माइकिङ गरेको थियो ।राति पानी केही मत्थर भएपनि मध्यरातदेखि चीनमा पानी परिरहेकाले खतरा कायमै रहेको सूचना बिहानै पनि हामीलाई आएको छ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव प्रसाद काफ्लेले भन्नुभयो ।

काफ्लेका अनुसार यता जस्तो सानो पानी परेको होइन उता अविरल मुसलधारे पानी परिरहेको जानकारी प्राप्त भएको छ ।हिजो भन्दा भोटेकोसी नदीको वहाव बढेको स्थानीयले बताएका छन् । प्रशासनले सूचना जारी गरेपनि आतिहाल्नुपर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल बताउनुहुन्छ ।

‘उता ताल फुट्यो भन्ने जानकारी आए यता भाग्न सक्ने समय रहन्छ तर पनि सतर्कता अपनाउनै पर्ने देखिन्छ’, ढकालले भन्नुभयो ।तातोपानी नाकाबाट करिव ४५ किमि टाढा तिब्ब्तको कुतीबजारबाट उक्त तालको पानी भोटेकोसीमै मिसिने भएकाले खतरा हुन सक्ने अनुमान स्थानीय प्रशासनको छ ।

उक्त ताल पुग्न कुतीबाट गाडीमा करिव ५–६ किमि पार गर्नुपर्छ । कराइ आकारको उक्त ताल भरिएकाले त्यसको जमेको पानी ओभर फ्लो हुने वा फुट्न सक्ने शंका गरिएको हो ।नेपालीले दुध पोखरीको नामले चिनिने उक्त ताल निकै ठूलो रहेको छ । तातोपानी स्थित मितेरी पुल पारि चिनियाँ भूभागमा रहेका आफ्ना नागरिकलाई नेलाम प्रशासनले खासा सारेको छ ।

भूकम्पछि तातोपानी भन्सार बन्द भएपछि चीनले मितेरीपुलमा आफ्ना कर्मचारी र सुरक्षाकर्मी मात्र राख्दै आएको छ ।यस अघि बसेका सर्वसाधारणलाई भने सिगात्सेमा बसोबास गराइसकेको छ । ताल फुटेमा त्यसको असर सीमा क्षेत्र तातोपानीदेखि तल्लो भाग सुनकोसी, भोटेकोसी किनार हुँदै दोलालघाट, सिन्धुली, रामेछाप र तराइका जिल्लामासमेत पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू