अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

नेपालमा अझै ५ दिन भारी वर्षा हुने

बिआरटीनेपाल २०७७ साउन ५ गते ७:१६ मा प्रकाशित

नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात् जारी रहने विभागले जनाएको हो । विभागले प्रदेश–एक, प्रदेश–दुइ, बागमती, गण्डकी, प्रदेश पाँच र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा त्योे भन्दा बढी पानी परिरहेको छ । यो अझै बढेर दुइ सय मिलिलिटर पुग्ने सम्भावना छ । न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको महानिर्देशक वैद्यले बताउनुभयो । उहाँका अनुसार साउन नौ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जानेछ ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १ सय ५० दशमलव ६, तनहुँको श्याम्घामा १ सय ४८ दशमलव ८ तथा गोरखामा १ सय ४० दमशलव दुइ मिलिमिटर पानी परेको छ । चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको छ । जलसतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटरमाथि पुगिसकेको छ ।

वर्षात् नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ । नारायणघाटको पुलमा जलसतहले सतर्कताको तह पार गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । खतराको तह पार गरेको स्थानका तल्लोटतीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ ।

पूर्व नवलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनिएको छ । कोशी कोशी नदीमा सतर्कताको तह पार गरेकाले भोलिसम्म खतराको तह पार गर्न सक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तह पार गर्न सक्ने अनुमान विभागले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू