अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२८ | Colorodo: 02:43

मंसिरमा महाधिवेशन गर्ने विषयमा मेरो सहमति छैन : नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ साउन ४ गते २:०२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने विषयमा आफ्नो सहमति नरहेको बताउनुभएको छ । आज बिहान आफ्नो निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरिएपनि त्यस बिषयमा आफू सहमत नभएको नेताहरुलाई ब्रिफिङ गर्नु भएको हो । उहाँले बाहिर आफूले पनि मंसिरमा महाधिवेशन गर्ने भन्नेबारे सहमति गरिसकेको भन्ने समाचारहरु आएपछि आफ्नो सचिवालयमार्फत कुनै सहमति नभएको जानकारी समेत गराएको बताउनुभयो ।

पार्टीभित्रको विवादले विभाजनको अवस्थासम्म पुगिसकेपछि समस्या समाधानको जिम्मा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई दिइएको छ । तर, ओली र दाहालबीचको वार्ताबाट निकास निस्कन नसकेपछि हिजो सचिवालयको बैठक बसेको थियो । हिजोको बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि स्थायी कमिटीमा कसरी अघि बढ्ने भन्नेबारेमा प्रचण्ड–नेपाल पक्षबीच छलफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू