अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

पत्रकारको रोजगारी सुनिश्चित गर – मानअधिकार आयोग

बिआरटीनेपाल २०७७ साउन २ गते ७:४२ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीको बेला सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न माग गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै महामारीको असहज परिस्थितिमा जोखिममा रही सूचना सम्प्रेषणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारको श्रमको सम्मान गर्न र रोजगारीबाट नहटाउन सञ्चार प्रतिष्ठान र नेपाल सरकारलाई आग्रह गरेको हो ।

कोरोना महामारी र लकडाउनको अवस्थामा केही सञ्चारगृहले लामो समयदेखि कार्यरत सञ्चारकर्मीलाई पारिश्रमिकसमेत नदिई, जिम्मेवारीबाट हटाई, विनाकारण अति दुर्गम स्थानमा सरुवा गरी मानसिकरुपमा तनावसमेत दिएको भनी उजुरी परेको आयोगले जनाएको छ । काठमाडौं उपत्यकालगायत विभिन्न जिल्ला सदरमुकामहरुबाट दुईहजार भन्दा बढी श्रमजीवी पत्रकार पेसाबाट पलायन हुनुपरेको नेपाल पत्रकार महासंघले जानकारी गराएको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

श्रमजीवी पत्रकारहरुमाथि भएको यस प्रकारको गतिविधिबाट नेपालको संविधानको धारा ३४ को उपधारा (१) र (२) बमोजिमको श्रम, सुविधा, पारिश्रमिक र सामाजिक सुरक्षाको हकबाट पत्रकारहरु वञ्चित हुन पुगेको आयोगको भनाइ छ । त्यस्तै नेपाल पक्ष राष्ट्र भएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी महासन्धि, १९६६ को धारा ७ द्वारा प्रदत्त जीवीकोपार्जनका लागि श्रमिकले भेदभावरहित ढंगबाट उचित पारिश्रमिक पाउने अधिकारको उल्लंघन भएको पनि आयोगले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू